काठमाडौं, १७ चैत । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ । यससँगै अब वैदेशिक रोजगारमा जाने नेपाली कामदारले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै अबदेखि श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गरेको जनाएको हो । यसअघि निजी क्षेत्रका सीमित संस्थामार्फत मात्रै सेवा उपल्ब्ध हुँदै आएको थियो ।
मन्त्रालयले स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था कार्यान्वयनलाई थप व्यवस्थित बनाउन स्वास्थ्य संस्थाको सूचीकरण प्रक्रिया समेत अगाडि बढाएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस मन्त्रालयको मिति २०६२/१२/१७ को माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रिस्तरबाट भएको निर्णय अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने नेपाल सरकारबाट स्वीकृति प्राप्त वा नेपाल सरकारको स्वामित्वमा रहेको स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्था बमोजिम यस मन्त्रालयबाट सूचीकरणको लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’