काठमाडौं, १० चैत । चालूु आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिनामा नेपालले १५५ मुलुकसँग व्यापार गरेको छ, जसमध्ये ३५ मुलुकसँग मात्रै व्यापार बचतमा छ । बाँकी सबै मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको कात्तिकसम्ममा व्यापार बचतमा रहेका मुलुकमध्ये सबैभन्दा अगाडि डेनमार्क छ । सो अवधिमा नेपाल डेनमार्कसँग ४८ करोड १४ लाखभन्दा बढीको बचतमा छ । फागुनसम्ममा नेपालले डेनमार्कतर्फ ६० करोड १० लाख मूल्यभन्दा बढीको वस्तु निर्यात गरेको छ भने ११ करोड ९५ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।
डेनमार्कपछि नेपाल सबैभन्दा धेरै रोमानियासँग बचतमा छ । चालू आवको कात्तिकसम्ममा नेपालले रोमानियातर्फ ८ करोड १५ लाखभन्दा बढीको वस्तु निर्यात गरेको छ भने ३ करोड ९ लाख मूल्य बराबरको वस्तु आयात गरेको छ । अर्थात नेपाल सो अवधिमा रोमानियासँग ५ करोड ६ लाख रुपैयाँले बचतमा छ ।
नेपालको नर्वेसँग ३ करोड ३३ लाख मूल्य बराबरको व्यापार बचतमा छ । सो अवधिमा नेपालले त्यसतर्फ १० करोड ८२ लाख मूल्य बराबरको वस्तु निर्यात गर्दा त्यहाँबाट ७ करोड ४८ लाखको वस्तु आयात गरेको छ ।

यसैगरी चालू आवको फागुनसम्ममा नेपालले १५५ मलुकसँग व्यापार गर्दा १२० मुलुकसँग व्यापार घाटा बेहोरेको छ । व्यापार घाटामा रहेका मुलुकमध्ये सबैभन्दा बढी छिमेकी राष्ट्र भारतसँग छ । चालू आवको फागुनसम्ममा नेपालले भारतसँग मात्रै ५ खर्ब ६७ अर्ब ३९ करोडभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा नेपालले भारतबाट ७ खर्ब २४ अर्ब ६ करोड मूल्य बराबरको वस्तु आयात गरेको छ भने भारततर्फ १ खर्ब ६६ अर्ब ६ करोडको वस्तु निर्यात गरेको छ ।
भारतपछि नेपालले अर्काे छिमेकी मुलुक चीनसँग सबैभन्दा धेरै व्यापार घाटा बेहोरेको छ । चालू आवको आठ महिनामा नेपालले चीनतर्फ ९८ करोड ३३ लाख मूल्य बराबरको वस्तु निर्यात गर्दा आयात भने २ खर्ब ६५ अर्ब ६६ करोडभन्दा बढीको वस्तु आयात गरेको छ । अर्थात सो अवधिमा नेपालले चीनसँग २ खर्ब ६४ अर्ब ६८ करोडभन्दा धेरैको व्यापार घाटा बेहोरेको छ ।
यस्तै अर्जेन्टिनासँग ७५ अर्ब ४ करोड, युएईसँग ४४ अर्ब ४१ करोड, इन्डोनेसियासँग १४ अर्ब २७ करोड मूल्य बराबरको व्यापार घाटा बेहोरेको छ ।
