काठमाडौं, १० चैत । दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको नेपालको अग्रणी उत्पादन तथा निर्यात कम्पनी मनराम ग्रुपले आफ्नो विभिन्न व्यवसायिक इकाइहरूमा नयाँ नेतृत्व नियुक्त गरेको घोषणा गरेको छ । यस कदमले नवप्रवर्तन, विश्वव्यापी विस्तार र दिगो विकासप्रति कम्पनीको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।
प्रदिक्षा शर्मालाई मनराम हिमालयन ह्यान्डिक्राफ्ट प्रा. लि. को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरिएको छ भने सागर केसीलाई मनराम फाम प्रा. लि. को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरिएको छ ।
यी रणनीतिक नियुक्तिहरूले अन्तारिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो विस्तारलाई तीव्र बनाउने क्रममा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा कम्पनीले गरेको छ ।
सन् २००३ मा स्थापना भएको मनराम ग्रुपले आफ्नो यात्रा परम्परागत नेपाली उत्पादनहरू जस्तै छुर्पी (कुकुरका लागि च्यु) र हस्तकलाका सामग्रीहरू संयुक्त राज्य अमेरिकामा निर्यात गरेर सुरु गरेको थियो । समयसँगै कम्पनीले कृषि, डेरी, पेट उत्पादन, खाद्य सेवा तथा उत्पादन क्षेत्रलगायत विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ । हाल ग्रुपमा ४५० भन्दा बढी कर्मचारीहरू कार्यरत छन् र यसले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
गुणस्तर, नैतिक व्यावसायिक अभ्यास र नवप्रवर्तनप्रति प्रतिबद्ध मनराम ग्रुपले स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै विशेष गरी महिला सशक्तीकरणमा उल्लेखनीय योगदान पु¥याएको छ ।
मनराम ग्रुपका अध्यक्ष सुमन श्रेष्ठले भने,‘ “यी नेतृत्व परिवर्तनहरूले हाम्रो दीर्घकालीन रणनीतिलाई अझ मजबुत बनाउनेछ । नयाँ नेतृत्वले नवप्रवर्तन, कार्यक्षमता र अन्तर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौं ।”
व्यावसायिक सफलतासँगै, मनराम ग्रुप आफ्नो सामाजिक उत्तरदायित्वप्रति पनि प्रतिबद्ध रहँदै आएको छ । मनराम फाउन्डेसनमार्फत कम्पनीले नेपालभर शिक्षा क्षेत्रमा विभिन्न पहलहरू—जस्तै पुस्तकालय स्थापना र छात्रवृत्ति कार्यक्रम—समर्थन गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर विस्तार र विविध उत्पादन पोर्टफोलियोका साथ मनराम ग्रुपले नेपालको निर्यात क्षेत्रलाई सुदृढ बनाउँदै राष्ट्रिय व्यापार घाटा न्यूनीकरणमा योगदान पु¥याउने लक्ष्य राखेको छ, साथै नेपाली उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने दिशामा रहेको छ ।