एक महिनामै भित्रियो ५१ हजार १९२ टन ग्यास, बजारमा अभाव भने कायमै

अनलाइनसमय |
९ चैत २०८२
एक महिनामै भित्रियो ५१ हजार १९२ टन ग्यास, बजारमा अभाव भने कायमै

काठमाडौं, ९ चैत । पछिल्लो एक महिनामै खाना पकाउने एलपी ग्यास आयात उल्लेख्य बढेको छ । तर, सर्वसाधारण उपभोक्ताले भने कालोबजारी हुँदा मागअनुसार खरिद गर्न सकेका छैनन् ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को फागुनमा मात्रै ५१ हजार १९२ टन ग्यास आयात भएको छ, जुन पछिल्लो तीन महिनाकै उच्च आयात हो । यसअघि माघमा ४६ हजार २८५ टन र पुसमा ४७४ सय ६० टन एलपी ग्यास आयात भएको थियो ।

अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण कच्चा तेल र एलपीजी आपूर्ति शृंखलामा अवरोध हुँदा यसको प्रत्यक्ष असर नेपालमा समेत परिरहेको छ । नेपाल आयल निगमले २८ फागुनदेखि आधा सिलिन्डर ग्यास बेचिरहेको छ, तर पनि उपभोक्ताले माग अनुसार पाउन सकेका छैनन् ।

यसोत तथ्याङ्क हेर्दा गत आवको तुलनामा पुस र माघमा कम ग्यास आयात भएको कारण पनि बजारमा ग्यास अभाव भएको देखिन्छ । गत आवको माघमा ४८ हजार ८८४ टन ग्यास भित्रिएको थियो, जुन यस वर्षको माघमा भित्रिएको ग्यास २ हजार ५९९ टनले कम हो । त्यस्तै, पुसमा पनि गत आवको भन्दा कम ग्यास आयात भएको थियो । आव २०८१/८२ को पुसमा ४७ हजार ६८३ टन ग्यास आयात भएकोमा २२३ टन कम ग्यास नेपाल भित्रिएको थियो ।

जाडो याममा ग्यासको खपत उल्लेख्य रूपमा बढ्ने हुँदा मासिक माग करिब ४९ हजार ५ सय टनसम्म पुग्ने गर्छ । तर यो दुई महिनामा मागभन्दा कम ग्यास आयात थियो । यद्यपि, फागुनमा भएको ग्यास आयातको वृद्धिले ग्यास उपलब्धतामा केही सहज हुने अपेक्षा गरिएको छ ।

समग्र आठ महिना (साउनदेखि फागुन)सम्ममा भत्रिएको ग्यास आयात गत वर्षको तुलनामा भने बढेको छ । चालू आवको फागुन मसान्तसम्म कुल ३ लाख ७२ हजार २ सय ८२ टन ग्यास आयात भएको छ, जुन गत आवका सोही अवधिको तुलनामा १० हजार १ सय ८७ टन बढी हो । गत वर्ष आठ महिनामा कुल ३ लाख ६२ हजार ९५ टन ग्यास भित्रिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस