काठमाडौं, ३ चैत । युवामा वित्तीय साक्षरता बढाउने उद्देश्यले ‘स्मार्ट मनि टक्स’ नारासहित ग्लोबल मनी विक–२०२६ हिजोबाट सुरु भएको छ । हरेक वर्ष च्ेत २ देखि ८ गतेसम्म यो अभियानको आयोजना गरिन्छ ।
अभियानको पहिलो दिन आयोजित उद्घाटन कार्यक्रममा काठमाडौँका विभिन्न विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत करिब पाँच सय विद्यार्थीको सहभागिता रहेको थियो । उक्त कार्यक्रम नेपाल राष्ट्र बैंकले नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड तथा सहकारी विभागसँगको सहकार्यमा आयोजना गरेको हो ।
चैत ८ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत देशभर वित्तीय सचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीलगायत सम्बन्धित निकायले युवालक्षित सचेतनामूलक कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।
अभियानको क्रममा बैंकिङ तथा वित्तीय सेवा, पुँजी बजार, बिमा र सहकारीसम्बन्धी विषयमा जानकारी दिने उद्देश्यले अन्तरक्रिया, प्रतियोगिता, श्रव्य–दृश्य सामग्री प्रसारण तथा वित्तीय सेवा प्रदायक संस्थाको अवलोकन भ्रमण जस्ता गतिविधि पनि सञ्चालन गरिने आयोजकले जनाएको छ ।
किशोर–किशोरी र युवामा वित्तीय शिक्षाप्रति जागरण ल्याउने लक्ष्यसहित ग्लोबल मनी विक सन् २०१२ देखि अन्तरराष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ । नेपालमा भने नेपाल राष्ट्र बैंकले सन् २०१३ देखि राष्ट्रिय संयोजकको भूमिकामा रहँदै यो अभियान मनाउँदै आएको छ । आयोजकका अनुसार हालसम्म विश्वका १७६ देशका सात करोडभन्दा बढी बालबालिका तथा युवाले यस अभियानबाट लाभ लिइसकेका छन् ।