काठमाडौँ, १ चैत । चालू आर्थिक वर्ष (आव)को ८ महिनामा विकास खर्च कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्तसम्ममा यस्तो खर्च १९ प्रतिशत मात्र भएको हो ।
सो अवधिमा विकास लक्षित पुँजीगत खर्च वार्षिक विनियोजनको १९ दशमलव २४ प्रतिशत अर्थात ७८ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ भएको छ । यस्तै चालू खर्च ५४ दशमलव ३७ प्रतिशत अर्थात ६ खर्ब ४२ अर्ब १४ लाख र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब पाँच अर्ब ९५ करोड २३ लाख खर्च भएको कार्यालयले जनाएको छ ।
चालू आवका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएकोमा फागुन मसान्तसम्ममा ९ खर्ब २६ अर्ब ५८ करोड ६५ लाख खर्च भएको छ । यो वार्षिक विनियोजनको ४७ दशमलव १८ प्रतिशत हो ।
त्यस्तै फागुन मसान्तसम्मको सरकारले वार्षिक लक्ष्यको ५० दशमलव ४९ प्रतिशत अर्थात ७ खर्ब ४७ अर्ब २८ करोड ५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
सरकारले यस वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।
आवको ८ महिनामा कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने लक्ष्य रहेकामा फागुन मसान्तसम्ममा वार्षिक लक्ष्यको ५१ दशमलव ४ प्रतिशत अर्थात ६ खर्ब ७६ अर्ब ५८ करोड रुपैयाँ असुली भएको छ । त्यस्तै गैरकर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख उठाउने लक्ष्य राखिएकोमा हालसम्म ४५ दशमलव ७८ प्रतिशत अर्थात ७० अर्ब ६९ करोड ४८ लाख रुपैयाँ संकलन भएको देखिन्छ ।
आलू आवका लागि सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा हालसम्म वार्षिक लक्ष्यको २४ दशमलव ७८ प्रतिशत अर्थात १३ अर्ब २४ करोड ५० लाख अनुदान आएको कार्यालयले जनाएको छ ।