बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ५७.१९ खर्ब कर्जा प्रवाह

अनलाइनसमय |
२८ फागुन २०८२
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ५७.१९ खर्ब कर्जा प्रवाह

काठमाडौं, २८ फागुन । चालू आर्थिक वर्ष २०८२८२ को सात महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा सवा ५७ खर्ब रुपैयाँभन्दा धेरै कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८२८२ को माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशत अर्थात् २ खर्ब २१ अर्ब ८४ करोडले बढी ५७ खर्ब १९ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.६ प्रतिशत अर्थात् २ खर्ब ८३ अर्ब ४६ करोडले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.८ प्रतिशतले बढेको छ ।

घट्यो घरजग्गा धितो सुरक्षण कर्जा
गत आवको तुलनामा यस वर्ष घरजग्गा धितो सुरक्षणमा प्रवाह भएको कर्जा १ दशमलव ३ प्रतिशत बिन्दुले घटेको छ । राष्ट्र बैंकका अनुसार माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत रहेको छ । गता आवको सोही अवधिमा यस्तो क्षेत्रमा प्रवाह भएको कर्जा ६५.०१ प्रतिशत थियो ।

त्यस्तै, चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ गत आवको सोही अवधिमा यस क्षेत्रमा प्रवाहित भएको कर्जा १४.४ प्रतिशत रहेको थियो ।

चालू आवको सात महिनामामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा १०.६ प्रतिशत, निर्माण क्षेत्रतर्फ ८.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ६.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ४.८ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.४ प्रतिशत र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.९ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा १६.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ११.० प्रतिशत, हायर पर्चेज कर्जा ९.३ प्रतिशत, आवधिक कर्जा ३.१ प्रतिशत, रियल स्टेट कर्जा ( व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ प्रतिशत, क्यास क्रेडिट कर्जा २.१ प्रतिशत र माग तथा अन्य चालु पुँजी कर्जा १.८ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३.४ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस