काठमाडौं, २६ फागुन । अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।
चुनाव गराउनका लागि बनेको अन्तरिम सरकारमा अर्थ मन्त्री बनेका खनालले चुनाव सम्पन्न भएलगत्तै आफुलाई प्रदान गरिएको रातो पासपोर्ट फिर्ता गरेका हुन् ।
मन्त्री खनालले मन्त्रालयअन्तर्गत प्रशासन महाशाखालाई पत्रसहित रातो पासपोर्ट बुझाएको जानकारी सामाजिक सञ्जालमा गराएका छन् । पत्रमा भनिएको छ, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीप्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु ।’
राहदानी नियमावली २०७७ को नियम १८ मा पदमा नरहेको एक महिनाभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने व्यवस्था छ । यही २१ फागुनमा चुनाव सम्पन्न भएसंगै अब करिब एक साता भित्र नयाँ सरकार गठन हुँदै छ । सो अगावै मन्त्री खनालले पासपोर्ट फिर्ता गरेका हुन् ।
