काठमाडौं, १४ फागुन । नेपालमा हजारौं युवा र निहत्था प्रदर्शनकारीहरूमाथि घातक हतियार (गोली) चलाउन देशका पूर्व प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले आदेश दिएको बीबीसीको एक अनुसन्धानले खुलासा गरेको छ।
गत भदौ २३ गते काठमाडौंमा मारिएका १९ जनामध्ये विद्यालयको पोशाकमा रहेका एक किशोर पनि थिए । भीडबाट टाढा जाँदै गर्दा उनको टाउकोको पछाडि गोली लागेको थियो । यस घटनामा दर्जनौं मानिस घाइते भएका थिए ।
राजनीतिक भ्रष्टाचारविरुद्ध केही सातादेखि बढ्दै गएको असन्तुष्टिका बीच आयोजना गरिएका “जेनजी ” प्रदर्शनले त्यसदिन हिंसात्मक रूप लिएको थियो। घटनापछि देशभर थप प्रदर्शन चर्किएको थियो । जसका कारण भोलिपल्टै प्रधानमन्त्रीले राजीनामा दिएका थिए र सरकार ढलेको थियो ।
बीबीसी वल्र्ड सर्भिसको टोलीले भदौ २३ को घटनाक्रमको विस्तृत विवरण भएको प्रहरीको एक आन्तरिक कागजात फेला पारेको दाबी गरेको छ । यसले ‘पिटर १’ कल साइन प्रयोग गर्ने व्यक्तिले कफ्र्यू लागू भएको १० मिनेटपछि आफ्ना अधिकारीहरूलाई ‘आवश्यक बल प्रयोग गर्न’ आदेश दिएको उल्लेख छ । यो आदेश फिल्डमा रहेका अधिकारीहरूले गोली चलाउन पटक–पटक अनुमति मागेपछि दिइएको थियो ।
वाकेटकीबाट सञ्चारका लागि प्रयोग गर्न प्रहरीमा कल साइन राखिन्छ । ‘पिटर १’ प्रहरी महानिरीक्षक (आईजीपी) का लागि प्रयोग हुने कल साइन हो ।
खापुङले आफूले उक्त आदेश दिएको कुरा अस्वीकार गरेका छैनन् । तर, नेपाल प्रहरीले भने सरकारी सुरक्षा समितिबाट अनुमति पाएपछि र कानुनअनुसार बल प्रयोगका अन्य सबै उपाय अपनाइसकेपछि मात्र यस्तो आदेश दिइएको दाबी गरेको छ । नोभेम्बरमा अवकाश लिएका खापुङले बीबीसीको प्रतिक्रिया अनुरोधमा उत्तर नदिइएको बताइएको छ ।
बीबीसीले परीक्षण गरेको भिडियो प्रमाणअनुसार १७ वर्षीय श्रेयम चौलागाईं — १९ मृतकमध्ये सबैभन्दा कान्छा — निहत्था थिए र घटनास्थलबाट निस्कने प्रयास गरिरहेका बेला मारिएका थिए ।
भदौ २३ गतेका घटनाहरू अहिले सार्वजनिक छानबिन समितिले अनुसन्धान गरिरहेको छ, तर अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन । हालसम्म कसैलाई पनि जवाफदेही ठहर गरिएको छैन । आगामी फागुन २१ गते आम निर्वाचन हुने तय भएको छ ।
बीबीसीलेले प्रहरी लगबुक, कार्यरत प्रहरी अधिकारीहरूको बयान तथा ४ हजारभन्दा बढी भिडियो र तस्वीरको विश्लेषणमार्फत घटनाक्रमको श्रृंखला तयार पारिएको रिपोर्टमा उल्लेख छ ।
सडक र कमाण्ड सेन्टरमा रहेका स्रोतहरूको विवरणका आधारमा नेपालकै हालको इतिहासको सबैभन्दा नाटकीय र रक्तपातपूर्ण दिनमध्ये एकको विस्तृत विवरण तयार पारिएको छ ।
१० वर्ष लामो सशस्त्र द्वन्द्वपछि २०६५ मा नेपाल गणतन्त्र बनेको नेपालमा नयाँ संविधान बनेको एक दशक बितिसक्दा पनि आफ्ना आशाहरू पूरा नभएको धेरै युवाहरूको असन्तुष्टि छ । केही अनुमानअनुसार करिब पाँचमध्ये एक जना युवा बेरोजगार छन्।
यो असन्तुष्टि अनलाइनमा, विशेषगरी १४ देखि २९ वर्ष उमेर समूहका जेनजीहरूमा बढी देखिन्दै आएको थियो । सेप्टेम्बर ४ मा सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम र एक्स (ट्विटर) लगायतका केही प्लेटफर्ममा प्रतिबन्ध लगाएपछि युवाहरू गेमिङ च्याट प्लेटफर्म ‘डिस्कोर्ड’ तर्फ लागे ।
‘यूथ अगेन्स्ट करप्सन’ नामक अनलाइन फोरममार्फत सेप्टेम्बर ८ मा संसद भवन बाहिर प्रदर्शन गर्ने योजना बनाइएको थियो ।
श्रीयम चौलागाईंकी आमाले उनलाई प्रदर्शनमा जान नदिन चाहनुभएको थियो । ‘मैले उसलाई सहभागी नहुन भनेकी थिएँ । प्रदर्शनमा जे पनि हुन सक्छ,’ उनले बीबीसीसँग भनेकी छन् । तर उनका बुबाका अनुसार श्रेयम राजनीति प्रति गहिरो रूपमा चासो राख्थे । उसले भन्थ्यो— भ्रष्टाचारले नेपाललाई खोक्रो बनाइसकेको छ । ऊ मभन्दा धेरै जानकार थियो,‘ उनका बुबाले बताए ।
श्रीयमले आमालाई उनीहरू युवा हुन् र विद्यालय पोसाकमा भएकाले प्रदर्शनकारीलाई निशाना नबनाइने भनेका थिए । ‘ऊ अत्यन्त जिज्ञासु थियो— संसारमा के भइरहेको छ जान्न चाहन्थ्यो,’ उनकी आमाले भनिन् ।
रक्तपातपूर्ण त्यो दिनको घटनाक्रम
बिहान ९ बजे : केन्द्रीय काठमाडौंको व्यस्त चोक माइतीघर मण्डलामा युवाहरू भेला हुन थाले । यो स्थानमा प्रायः प्रदर्शनहरू हुने गर्छन् ।
करिब ३० हजार मानिस प्रदर्शनमा उत्रिए, जुन प्रहरीले अनुमान गरेको भन्दा १० गुणा बढी थियो ।
एक प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा बीबीसीलाई भने, ‘हामीले प्रदर्शनको एउटा ढाँचा बुझेका छौं । तर यो नयाँ पुस्ताको सामाजिक सञ्जाल र उनीहरू कसरी जम्मा हुन्छन् भन्ने हामीले बुझेनौं ।’
संसद भवनभन्दा केही सय मिटर टाढा प्रहरी अवरोध (ब्यारिकेड) राखिएको थियो ।
नेपालको दैनिक अनलाइन समाचार पोर्टल अनलाइनखबरकासम्पादक बसन्त बस्नेत भन्छन्, ‘सुरक्षा निकायले भीडलाई अत्यन्तै कम आँकलन गर्यो । मैले सुरक्षा अधिकारी र राजनीतिक वर्गका सदस्यहरूसँग कुरा गरेँ— उनीहरूले ‘बालबालिका’ सहभागी हुँदैछन् भनेका थिए ।’
प्रदर्शनकारीहरू संसदतर्फ अघि बढ्न थाले, तर प्रहरी ब्यारिकेडले उनीहरूलाई रोकेको थिया ।

बिहान ११ः४७ बजे : केही प्रदर्शनकारीहरूले घेराबन्दी पार गर्ने बाटो फेला पारे अचम्ममा परेका प्रहरीले ब्यारिकेड छोडे । भीड अगाडि बढ्दै संसदको गेटसम्म पुग्यो ।
दिउँसो १२ः१५ बजेः प्रदर्शनकारीको एक समूहले संसद परिसरको पर्खालभित्र पस्छ । प्रहरीले अश्रुग्यास र लाठीचार्ज गर्छ । डिस्कोर्डमार्फत आयोजकहरूले पछि हट्न आग्रह गरे पनि भीड पछि हट्दैन ।
भिडियो फुटेजमा हरियो विद्यालयको स्वेटर लगाएका र झोला बोकेका छौं । श्रीयम संसदको गेटबाहिर देखिन्छन् । उनको हातमा ‘यूथ अगेन्स्ट करप्सन’ लेखिएको ब्यानर थियो । यसैबीच, अन्य स्थानमा प्रदर्शन झन् हिंसात्मक बन्दै गइरहेको थियो ।
‘सिचुएसन रुम’ भित्र
वरिष्ठ सुरक्षा अधिकारीहरू संसदबाट करिब ३ किलोमिटर टाढा सरकारी कार्यालय परिसर नजिकैको नियन्त्रण कक्षमा भेला भएका थिए । त्यहाँ नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी र गुप्तचर निकायका प्रतिनिधिहरू उपस्थित थिए । सुरक्षा समिति राजधानीका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको थियो । कमाण्ड सेन्टरभित्र अधिकारीहरूले संसद परिसर वरिपरि जडान गरिएका सीसीटीभी क्यामेराबाट प्रत्यक्ष दृश्य लिन प्रयास गरिरहेका थिए । एक नाम नखुलाइएको अधिकृतका अनुसार त्यहाँ टेलिभिजन त थियो, तर छुट्टै इन्टरनेट लाइन थिएन र पूर्ण जानकारी थिएन ।
त्यस दिन त्यहाँ उपस्थित प्रहरी अधिकारीहरूका अनुसार कुनै एक व्यक्ति वा इकाइसँग समग्र अवस्थाबारे पूर्ण जानकारी थिएन ।
दिउँसो १२ः३० बजे : बीबीसीले प्राप्त गरेको लगअनुसार, ‘पिटर १’ (आईजीपी खापुङ)ले आदेश दिन्छन् ‘कफ्र्यू लागू भइसकेको छ । अनुमति लिइरहनु पर्दैन । आवश्यक बल प्रयोग गर्नु ।’
केही प्रदर्शनकारीहरूले प्रहरी टोलीलाई घेरा हालेर इँटा र ढुंगा प्रहार गरे । लगभग सोही समयमा संसदको गेटहाउसमा आगलागी भएको दृश्य फुटेजमा देखिएको रिपोर्टमा उल्लेख छ ।
धेरै प्रहरी स्रोतहरू र प्रहरी लगबुकअनुसार संसद वरिपरिका आत्तिएका प्रहरीले कमाण्ड सेन्टरमा सहयोग माग्दै वायरलेस सन्देश पठाए । ‘हामीमध्ये केही गम्भीर घाइते भयौँ । एक जनाले उद्धारका लागि अनुरोध गरे,’ एक नाम नखुलाइएको प्रहरी स्रोतले बताए । लाठीचार्ज, पानीको फोहोरा र रबर गोलीले भीड तितरबितर पार्न नसकेपछि प्रहरीले गोली प्रयोग गर्न अनुमति मागेका थिए ।
नेपाल प्रहरीले यो आदेश सुरक्षा समितिले दिएको दाबी गरे पनि समितिका तत्कालीन प्रमुख रिजालले जाँचबुझ आयोगसमक्ष आफूले गोली चलाउन अनुमति नदिएको बयान दिएका छन् । एक प्रहरी अधिकारी सम्झिन्छन्, ‘हाम्रा अधिकारीहरूले उनीहरूमाथि दुश्मनलाई जस्तै गोली चलाए ।’
१२ः४० बजे : प्रहरी लगबुक र विभिन्न प्रहरी स्रोतका अनुसार यही समयमा घातक गोली प्रयोग गर्न अनुमति दिइयो । अनुमतिको स्रोत उनीहरूले एउटा कल साइनसम्म पहिचान गरेका छन् ‘पिटर १’ ।
प्रहरी लगबुकमा पिटर १‘ बाट आएको निर्देशन यसरी अभिलेख गरिएको छ ः ‘कफ्र्यु पहिले नै लागू भइसकेको छ । थप अनुमति लिनु आवश्यक छैन । आवश्यक बल प्रयोग गर्नु ।’
पछि नेपालको सर्वोच्च अदालतमा दायर गरिएको निवेदनमा खापुङले आफ्नो जिम्मेवारी अस्वीकार गरेका थिए । नेपाल प्रहरीले बीबीसीलाई दिएको जानकारीअनुसार गोली चलाउने आदेश दिने निर्णय छविलाल रिजाल नेतृत्वको सुरक्षा समितिबाट भएको थिया े। प्रहरीद्वारा पठाइएको पत्रमा ‘समितिको निर्णयअघि खापुङले बल प्रयोगको आदेश दिएका थिएनन्,’ भनिएको छ ।
सार्वजनिक सुरक्षा सम्बन्धी परिस्थितिमा बल प्रयोगको स्तर बढाउने कानुनी अधिकार प्रहरीसँग नभई सुरक्षा समितिसँग रहने प्रावधान छ । तर तत्कालीन समिति अध्यक्ष रिजालले भने अदालतमा आफूले जीवित गोली प्रयोग गर्न अनुमति नदिएको बताएका छन् ।
घटनाका साक्षी केही प्रहरी अधिकारीहरूले गुप्तचर जानकारी, योजना र कमाण्ड व्यवस्थापनमा कमजोरी स्वीकार गरेका छन् । कतिपयले डिस्कोर्डमार्फत छिटो संगठित भएको भीडका लागि आफूहरू तयार नभएको बताएका छन् । अरूले सैन्य सहयोग किन ढिला आयो भन्ने प्रश्न उठाएका छन् ।
धेरै प्रहरी अधिकारीहरू अझै पनि त्यस दिनको सम्झनाबाट मुक्त हुन नसकेको बताउँछन् । ‘हाम्रा अधिकारीहरूले उनीहरूलाई शत्रुजस्तै गरी गोली चलाए,’ एक जनाले भने ।
दिउँसो १३ः१५ बजे : गोली लागेर पहिलो मृत्यु हुन्छ । भिडियो प्रमाणअनुसार ३४ वर्षीय विनोद महर्जनलाई टाउकोमा गोली लागेको अवस्थामा बोक्दै लगिएको देखिन्छ । उनको पछि अस्पतालमा मृत्यु हुन्छ ।
दिउँसो १४ः०९ बजे :सबैभन्दा कान्छा पीडित १७ वर्षीय श्रीयम शान्तिपूर्ण रूपमा अगाडिको लाइनबाट फर्किँदै गरेको भिडिओमा देखिन्छ । स्कुलको झोला बोकेका उनी शान्त देखिन्छन् र ताली बजाइरहेका हुन्छन्। एक्कासी उनको टाउकोको पछाडि गोली लाग्छ र उनी भुइँमा ढल्छन् ।

दिउँसो १४ः२१ बजे :भिडियो प्रमाणअनुसार संसद परिसरभित्रबाट प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको देखिन्छ । प्रहरीले भीडतर्फ सात राउन्ड गोली प्रहार गरेको पुष्टि भएको छ । प्रदर्शनकारीहरू भवन र सडकबीचका खाली स्थानतर्फ भाग्दै जोगिन खोज्छन् । कतिपयले टाउको छोपेर आफूलाई जोगाउने प्रयास गर्छन् । २४ वर्षीय योगेन्द्र न्यौपाने गोली लागेर गम्भीर घाइते हुन्छन् र उनको मृत्यु हुन्छ ।
अन्तिम गोलीकाण्ड करिब १६ः०० बजे भएको देखिन्छ । साँझ पर्नासाथ संसदबाहिरको मुख्य प्रदर्शन शान्त हुन थाल्यो, तर रातभर साना छिटपुट प्रदर्शन जारी रहे ।
भोलिपल्टको परिमाण
सेप्टेम्बर ८ मा संसद गेटमा भएको हत्याकाण्डप्रति आक्रोशित भई भोलिपल्ट सबै उमेर समूहका नेपालीहरू सडकमा उत्रिन्छन् । सुरुमा प्रदर्शनका रूपमा देखिएको अवस्था छिट्टै भीड हिंसामा परिणत हुन्छ र प्रहरी प्रत्यक्ष निशाना बन्छन् । प्रहरी चौकीहरूमा आगजनी गरिन्छ, प्रहरीमाथि आक्रमण हुन्छ र तीन प्रहरीको मृत्यु हुन्छ ।
संसद परिसर, सर्वोच्च अदालत तथा अन्य सरकारी भवनहरूमा आगजनीका घटना हुन्छ । समग्र अशान्तिका क्रममा ७७ जनाको ज्यान गएको बताइएको छ ।
राजनीतिज्ञ, प्रहरी र प्रदर्शनकारीहरूले राजनीतिक स्वार्थका लागि संगठित समूह वा घुसपैठकारीहरूले हिंसा भड्काएको आरोप लगाए पनि त्यसको पुष्टि हुने प्रमाण भने भेटिएको छैन ।
सेप्टेम्बर ९ दिउँसो करिब १४ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए र सरकार ढल्यो । साँझसम्म काठमाडौंका विभिन्न स्थानमा भवनहरू जलिरहेका हुन्छन् र कम्तीमा थप ५० जनाको मृत्यु भएको विवरण आउँछ । राति २१ः०० बजे सेनाले नियन्त्रण आफ्नो हातमा लिन्छ ।
घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि स्वीकार गरेको छैन । बीबीसीबाट