काठमाडौं, २९ पुस । सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि दोस्रो चरणको आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि र १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।
अब कम्पनीले बाँकी रहेको ८२ करोड रुपैयाँबराबरको ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते हुनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड तथा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।