काठमाडौं, २५ पुस । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको छ । यसमध्ये ५ प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता शेयर उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविक नवलपरासी) र पाल्पा जिल्लाका स्थानिय बासिन्दालाई १०० रुपैयाँ अंकित मूल्यमा वितरण गरिनेछ ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिनेछ । यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति आवश्यक पर्नेछ ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । उद्योग प्रभावित क्षेत्रका लागि आवेदन माघ ९ देखि माघ २५ सम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि पुस ३० देखि माघ ९ सम्म खुला रहनेछ ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम जोखिममा रहेको संकेत गर्छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।