काठमाडौं, २३ पुस । शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजीको ३२ दशमलव ६५ प्रतिशत बराबर ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । यसमध्ये ९ लाख ८० हजार कित्ता शेयर बागलुङका आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि र २ लाख २२ हजार कित्ता शेयर विदेशमा कार्यरत नेपालीका लागि छुट्याइएको छ ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानियका लागि निष्काशन माघ २० गतेसम्म (ढिलोमा फागुन ८ गतेसम्म) र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि माघ ९ गतेसम्म खुला रहनेछ ।
इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ ।