काठमाडौं, १३ पुस । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आगामी पुस २२ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ ल्याउन लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबर हुने ३१ करोड रुपैयाँको ३१ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाइसकेको छ । सोमध्ये १५ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि छुट्याइएको छ ।
यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात १ करोड ५५ लाख रुपैयाँ बराबरको १ लाख ५५ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिनेछ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ ।
आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि शेयर निष्काशन छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गतेसम्म खुला रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गतेसम्म तोकिएको छ ।
कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ ।