काठमाडौं, ९ पुस । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो ।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो । सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो ।
लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गर्न लागेको हो ।
निष्काशन बन्द छिटोमा पुस २४ गते र ढिलोमा माघ ५ गते हुनेछ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ। यसले लघुवित्तको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।