काठमाडौं, ८ पुस । काठमाडौंमा उत्पादित रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
मंगलबार बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिका अनुसार कालीमाटी तरकारी बजारस्थित पसल नम्बर ६५० मा उत्तम प्रसाद रेग्मीले बिक्रीका लागि राखेको रायोको साग परीक्षण गर्दा उक्त विषादीको मात्रा बढी भएको पाइएको हो । केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।
विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग गर्न पूर्ण अयोग्य रहेको जनाइएको छ । सरकारले अर्गानोफस्फेटमा प्रतिशत दर ३५ भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।