• राजनीति

    राष्ट्रपतिलाई ओलीको प्रश्न: त्यस्तो मान्छे सल्लाहकार राख्न मिल्छ ?

     111 Views
    राष्ट्रपतिलाई ओलीको प्रश्न: त्यस्तो मान्छे सल्लाहकार राख्न मिल्छ ?

    काठमाडौं, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको सल्लाहकार चिरञ्जीवी नेपालमाथि प्रश्न उठाएका छन् ।

    शुक्रबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयबारे राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको बताए । उनले भने, ‘नेपालले नेपालको नोटमा नेपालको नक्सा छाप्दा अर्को देश करायो । किन करायो होला अर्को देश भन्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरू त्यो अर्को देश कराए सँगसँगै यो फलानो देशलाई उत्तेजित पार्न खोजिएको हो भन्छ, सम्माननीय राष्ट्रपतिले कस्ता र कसका मान्छेलाई जागिर खुवाएर राख्नुभएको छ ? यस्तै मान्छे राखेर तिनकै सल्लाहअनुसार, त्यस्ता मान्छे राष्ट्रपतिले राख्न मिल्छ ?’

    नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेपछि नेपालले त्यसविरुद्धको अभिव्यक्ति दिएका थिए ।

    यस्तै अध्यक्ष ओलीले उक्त विषयलाई संसदमा गम्भीर रुपमा उठाउने बताए । उनले राष्ट्रपतिका सल्लाहकारले राष्ट्रपतिको बोली बोल्ने भन्दै राष्ट्रपतिलाई समेत प्रश्न गरे । ‘राष्ट्रपतिजीले सुन्नु भएको छ कि छैन ? छैन भन्ने यही भनाइबाट सुन्नुस् । राष्ट्रपतिजी के भन्नुहुन्छ ? राष्ट्रपतिको आवाज हो कि होइन ? हामी सोध्न चाहन्छौं ।’

    साथै उनले सरकारलाई पनि हरेक नोट र सिक्कामा अनिवार्य रुपमा नयाँ नक्सा राख्न सुझाव दिए । उनले भने, ‘हात्ती,गैंडा केके राख्नुपर्छ, राखौं, फ्रन्ट वा पृष्ठभागमा अनिवार्य रुपमा नयाँ नक्सा पनि राख्नुस् ।’

     

     

    यसमा तपाइको मत

    Facebook Comment