खगेन्द्र सुनारले भने– मविरुद्ध एआई प्रयोग गरेर प्रचार गरियो, छानबिनका लागि तयार छु

अनलाइनसमय |
२७ असोज २०८३
खगेन्द्र सुनारले भने– मविरुद्ध एआई प्रयोग गरेर प्रचार गरियो, छानबिनका लागि तयार छु

काठमाडौं, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि निरन्तर प्रहार भइरहेको र सार्वजनिक गरिएको अडियो कृत्रिम बौद्धिकता (एआई) लगायत प्रविधिको प्रयोग गरेर बनाइएको दाबी गरेका छन् ।

एक महिलालाई धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि मंगलबार एक भिडियो जारी गर्दै उनले यस्तो बताएका हुन् । ‘ प्रहरी भित्रको भ्रष्टाचार बिरुद्ध प्रश्न गरेपदेखि म माथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप प्रत्यारोपको सिकार भइरहेको छु, उनले भनेका छन्, ‘हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् ।’

सांसद सुनारले भ्रष्टाचारविरुद्ध प्रश्न उठाउँदा आफूले निर्मम अत्याचार र घृणाको सामना गर्नुपरेको उनको भनाइ छ । आफूविरुद्ध उठेका प्रत्येक प्रश्न र आरोपको छानबिन गर्न आग्रह गर्दै उनले यस्ता भ्रममा नपर्न आम नागरिकलाई अपिल गरेका छन् ।

रास्वपाले खगेन्द्र सुनारविरुद्ध सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपहरूबारे आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ । रास्वपाको केन्द्रीय अनुशासन आयोगले सांसद सुनारलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । साथै, छानबिन प्रक्रिया नसकिएसम्मका लागि उनलाई पार्टीका कुनै पनि औपचारिक तथा सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस