काठमाडौं, २३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गत वर्ष भएको जेनजी’ आन्दोलनको मर्म र मार्गबाट पार्टी एक इन्च पनि विचलित नहुने प्रतिबद्धता जनाएका छन् ।
आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा विशेष विज्ञप्ति जारी गर्दै सभापति लामिछानेले युवा पुस्ताले भ्रष्ट्राचार, दलीय भागबन्डा र कुशासनविरुद्ध देखाएको अभूतपूर्व जागरणको स्मरण गरे ।
डिजिटल युगमा हुर्किएको नयाँ पुस्तालाई अब कुनै पनि बहानामा कुशासन मञ्जुर नरहेको उल्लेख गर्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ ।’
आन्दोलन कुनै दलविशेषको आह्वानमा नभई स्वतःस्फूर्त रूपमा भएको जागरण भएकाले यसलाई कसैले पनि आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउन नहुने लामिछानेले स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा आज समयले हामीलाई उभ्याएको छ। र यो पनि सम्झाएको छ कि हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ ।’
लामिछानेले परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बग्नु अत्यन्तै पीडादायी भएको उल्लेख गर्दै विज्ञप्तिमा आन्दोलनका अमर शहीदहरू र ड्युटीका क्रममा ज्यान गुमाएका प्रहरीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
साथै राज्यले आन्दोलनका क्रममा अङ्गभङ्ग र घाइते भएकाहरूको पूर्ण उपचार, उचित हेरचाह तथा दीर्घकालीन पुनस्र्थापनाको दायित्व पूरा गर्नुपर्नेमा लाकिछानेले जोड दिएका छन् ।
उनले आम नागरिक, युवा तथा नागरिक समाजलाई रास्वपाको कार्यसम्पादनमा निर्मम समीक्षा र रचनात्मक खबरदारी निरन्तर जारी राख्न अपिल गर्दै नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा बदल्न आग्रह गरेका छन् ।

