काठमाडौं, १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक उच्चस्तरीय बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्दैछ ।
बाढीबाट भएको क्षति, प्रभावित नागरिकको उद्धार तथा तल्लो तटीय क्षेत्रमा बढ्दै गएको जोखिमबारे तत्काल निर्णय लिन बैठक बोलाइएको हो । बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने जनाइएको छ ।
अचानक आएको बाढीले रसुवाको स्याफ्रुबेँसीलगायतका क्षेत्र प्रभावित भएका छन् भने बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा अघि बढेको छ । बाढी पूर्वानुमान महाशाखाले समेत विभिन्न जिल्लाका नदीमा बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।