काठमाडौं, ७ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र नेकपा मसालसँग भएको सहमति तत्कालीन राजनीतिक आवश्यकता पूरा गर्ने सीमित कार्यनीति मात्र नभएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले तीन बुँदे सहमति दीर्घकालीन राजनीतिक सोचका आधारमा गरिएको दाबी गरे । उनले वर्तमान परिस्थितिलाई राष्ट्रियताका दृष्टिले गम्भीर संकटका रूपमा चित्रण गर्दै कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता औंल्याए ।
विगतका राजनीतिक कमजोरीबाट पाठ सिक्दै सम्पूर्ण कम्युनिस्ट शक्तिहरू साझा रणनीतिका साथ अघि बढ्नुपर्ने प्रचण्डले बताए । अहिलेको परिस्थितिमा कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यलाई सत्ता समीकरण वा तत्कालीन राजनीतिक लाभका रूपमा बुझ्न नहुने उनको भनाइ छ ।
विगतमा भएका कमी–कमजोरीबाट शिक्षा लिएर सबै कम्युनिस्ट पार्टी एक ठाउँमा आउनुपर्नेमा उनले जोड दिए । उनले कम्युनिस्ट शक्तिहरूलाई एकजुट भएर आगामी राजनीतिक आन्दोलनको तयारी गर्नसमेत अपिल गरे ।
यसअघि एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य तथा संयुक्त सरकार गठन गर्ने विषयमा तीन बुँदे सहमति भएको थियो ।