काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि केन्द्रीय कार्यालय सानेपामा आउन संस्थापन इतर समूहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई अपिल गरेका छन् ।
उनले शुक्रबार विज्ञप्ति जारी गरेर पार्टीको आन्तरिक विवाद राजनीतिक संवादबाट समाधान गर्नुपर्ने बताएका छन् ।
मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको समयमा कांग्रेस आफैं सजग र सुदृढ हुन नसके देश ठूलो राजनीतिक विग्रहको भुमरीमा फस्ने जोखिम रहेको महामन्त्री पौडेलको भनाइ छ ।
‘आज मुलुक फेरि एउटा विशिष्ट र चुनौतीपूर्ण मोडमा उभिएको छ । गत भदौ २३ र २४ गतेका घटनाक्रम र त्यसपश्चात् सिर्जनाभएका परिस्थितिले देश कठिन मोडमा उभिएको छ । मुलुकमा रहेका विकृती र विसंगतीका विरुद्धमा युवाहरूले आफ्ना भावना शान्तिपूर्ण रूपमा व्यक्त गर्न खोज्दाखोज्दै पनि विभिन्न परिस्थिति र चलखेलका कारण त्यसले भयानक र अप्रत्याशित रूप लियो जसको परिणाम र गम्भीरता आज हामी सबैको सामु छर्लङ्ग छ, उनले विज्ञप्तिमा भनेका छन, ‘तत्पश्चात आम निर्वाचन सम्पन्न भयो र देशमा प्रचण्ड बहुमतको सरकार छ । हामी सबै यो सरकारले पाएको जनमत खेर नजाओस र जनअपेक्षा अनुसार मुलुक ठिक बाटोमा हिडोस भन्ने कामना गर्दछौ । तर सत्तामा रहेकाहरूको कतिपय गतिविधि र पछिल्लो समय मुलुकमा घटिरहेका घटनाहरूले गम्भीर चासो र चिन्ता पैदा गरेका छन् । यस्तो संगिन समयमा नेपाली कांग्रेस आफैं सजग र सुदृढ नहुने हो भने मुलुक ठुलो राजनीतिक विग्रहको भुमरीमा फस्ने जोखिम देखिन्छ ।’
पौडेलले असन्तुष्ट नेता, कार्यकर्ता र शुभेच्छुकलाई फरक विचारसहित पार्टीको साझा मन्दिर सानेपा आउन आग्रह गरेका छन् । ‘सबै असन्तुष्ट श्रद्धेय नेता, जुझारु कार्यकर्ता र आत्मीय शुभेच्छुक साथीहरूलाई नम्रताका साथ अनुरोध गर्न चाहन्छु कि आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस्,’ उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् । महामन्त्री पौडेलले विगतका कमजोरीमा सबैको सामूहिक जिम्मेवारी रहेको स्वीकार गर्दै संवादमार्फत अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै उनले तोकिएकै समयमा आगामी १५औँ महाधिवेशन सम्पन्न गरी आम कार्यकर्ताले सुम्पिने नेतृत्वलाई स्वीकार गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले विज्ञप्तिमा भनेका छन, ‘सानेपामा बसेर मनैदेखि संवाद गरौं । विगतका कमजोरीहरूमा हामी सबैको सामूहिक जिम्मेवारी छ, त्यसलाई पनि आत्मसात् गर्दै अघि बढौँ । आगामी १५औं महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गरी आम कार्यकर्ताले सुम्पिने नेतृत्वलाई स्वीकार गरौं र लोकतन्त्रलाई थप सुदृढ बनाउने बाटोमा एकजुट भएर लागौं ।’
सत्ता प्राप्ति अग्रजहरूको मुख्य ध्येय नरहेको र सिद्धान्त संकटमा परेका बेला विभाजित हुनुले लोकतन्त्र र देशलाई नै कमजोर बनाउने उनले उल्लेख गरेका छन । ‘यस्तो बेला हामी विभिन्न बहानामा विभाजित हुनु भनेको लोकतन्त्र र देशलाई नै कमजोर बनाउनु हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘समयमै गल्ती सच्याएनौं भने इतिहासले हामीलाई क्षमा दिने छैन ।’
विगतका कमजोरीहरूमा सामूहिक जिम्मेवारी आत्मसात् गर्दै, मतभेदहरूलाई थाँती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन र विनाशर्त सानेपा आउन महामन्त्री पौडेलले सबैमा अनुरोध गरेका छन् ।