काठमाडौं, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान)ले सूचना जारी गर्दै सस्तो र कम स्पीडका प्याकेज बन्द गर्ने निर्णय गरेको हो । यससँगै इन्टरनेटको मूल्य बढ्ने छ ।
बितेका १२ वर्षमा इन्टरनेटको पहुँच र प्रभावमा नेपालले गरेको प्रगति गर्व गर्न लायक रहेको र फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचमा, हामी दक्षिण एसियाको सस्तोमा पर्ने आइस्पानको दाबी छ ।
इस्पानले सम्पूर्ण इन्टरनेट सेवा प्रदायकहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट आफ्ना वेबसाइटहरूमा स्पष्ट देखिने गरी राख्न र सोहीअनुसार बेच्न निर्देशन दिएको छ ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक बजारमा बढेको चर्को मूल्यवृद्धिका कारण सेवा सञ्चालन (अपरेसन) खर्च धान्न नसक्ने अवस्था आएपछि यस्तो निर्णय लिनुपरेको इस्पानले स्पष्ट पारेको छ ।
विगतका वर्षहरूमा भएको मूल्यवृद्धि, मध्यपूर्वको तनावका कारण इन्धनको मूल्य बढेको थियो । त्यस्तै, फाइबरको मूल्यमा भएको भारी वृद्धि, उच्च मुद्रास्फीति तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारले चिपसेट र इलेक्ट्रोनिक्स सामग्रीको मूल्य अत्यधिक बढेको छ । यी विविध कारणहरूले गर्दा इन्टरनेट सेवा प्रदायकहरूको नियमित सञ्चालनमै सकस उत्पन्न भएपछि सुपथ मूल्य र कम स्पीडका प्याकेजहरू उपलब्ध गराउन नसक्ने आइस्पानले जनाएको छ ।