काठमाडौं, ४ साउन । रुसले युक्रेनको राजधानी किभसहित आसपासका क्षेत्रमा बुधबार राति गरेको मिसाइल आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । आक्रमणपछि विभिन्न स्थानमा भग्नावशेषमा मानिस फसेको आशंकामा उद्धार तथा खोजी कार्य जारी छ ।
युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रुसी आक्रमणमा भवन तथा गोदामलगायत संरचनामा क्षति पुगेको छ । उद्धारकर्मीहरूले क्षतिग्रस्त संरचनाका भग्नावशेष हटाउँदै सम्भावित पीडितको खोजी गरिरहेका छन् ।
किभका मेयर भिताली क्लित्स्कोका अनुसार आक्रमणबाट एउटा बाल अस्पतालसमेत प्रभावित भएको छ । अस्पतालका झ्यालका सिसा फुटेका छन् भने आसपास पार्क गरिएका केही सवारीसाधनमा आगलागी भएको छ ।
आक्रमणअघि किभ प्रशासनले हवाई आक्रमणको चेतावनी जारी गर्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो। सम्भावित रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण रोक्न हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको थियो ।