प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

अनलाइनसमय |
२ भदौ २०८३
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं, २ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गरेका छन् ।

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले मंगलबार शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए ।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका थिए ।
पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी कोमल सेठ पनि छिन् । सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरिएको हो । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र सेठबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो । त्यस अवसरमा उनीहरूबीच आपसी हितका विषयका साथै नेपाल र भारतबीचको द्विपक्षीय सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस