ओमानमाथि बम हान्ने राष्ट्रपति ट्रम्पको चेतावनी

अनलाइनसमय |
२ भदौ २०८३
ओमानमाथि बम हान्ने राष्ट्रपति ट्रम्पको चेतावनी

काठमाडौं, २ भदौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानसँग गरिरहेको वार्तामा बाधा पुर्‍याउन खोजे अमेरिकाको साझेदार ओमानमाथि नै बम खसाल्ने चेतावनी दिएका छन् ।

विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण रहेको होर्मुज जलमार्ग खुला गर्ने विषयमा अमेरिका र इरानले अलग अलग वार्ताहरू गरिरहेका छन्। अमेरिका–इरान युद्धका कारण उक्त जलमार्ग पछिल्लो ६ महिना यता लगभग बन्द छ ।

फक्स न्यूजका एक संवाददाताका अनुसार ट्रम्पले फोन अन्तरवार्ताका क्रममा ‘अपशब्द’ बोल्दै त्यस्तो चेतावनी दिएका थिए ।

यसअघि इरानी अधिकारीहरूले उनीहरूले ओमानसँगको एउटा सम्झौतालाई अन्तिम रूप दिन लागिरहेको बताएका थिए । अमेरिका र इरानबीच भएको एउटा समझदारीपत्रमा उल्लेख गरिएको ६० दिनको समयसीमा सकिएसँगै दुई पक्षबीचको वार्ताको भविष्यलाई लिएर अन्योल देखिएको छ ।

गत फेब्रुअरीमा अमेरिका र इजरेलले इरानमाथि आक्रमण गरेपछि तेहरानले विश्वको तेल र तरल प्राकृतिक ग्यासको पाँच भागको करिब एक भाग ढुवानी हुने होर्मुज जलमार्गलाई लगभग बन्द गरिदिएको छ । उक्त जलमार्ग खुलाउने विषयमा नै पछिल्ला छलफलहरू केन्द्रित रहँदै आएका छन् ।

सो जलमार्गको दक्षिणमा ओमान अवस्थित छ र उसले उक्त द्वन्द्वमा आफू तटस्थ रहेको बताउने गरेको छ । तर पटक पटक इरानबाट आक्रमण खेपेको ओमानले अहिले सो जलमार्ग खुलाउन तेहरानसँगको वार्तामा प्रमुख भूमिका खेलिरहेको छ ।

ट्रम्पले सम्झौता गर्ने आफ्नो महत्त्वकांक्षामाथि बाधा पु¥याएको अर्थमा कुन कुरालाई लिन्छन् भन्ने प्रस्ट भइसकेको छैन ।

इरानले होर्मुज जलमार्गहुँदै पानीजहाजहरूलाई यात्रा गर्न दिने विषयमा दुई देशबीच सहमति भएको बताएको केही घण्टामा नै ट्रम्पको उक्त चेतावनी आएको हो ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेइले संवाददाताहरूलाई दिएको जानकारी अनुसार दुवै पक्षबीच पारवहन जलमार्गको नक्सामा सहमति भएको छ । उनले दुई पक्षले विस्तृत विवरणहरूलाई अन्तिम रूप दिएपछि संयुक्त वक्तव्य जारी गरिने पनि उल्लेख गरेका थिए । यसअघि ओमानले दुई पक्षबीचको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएको थियो ।

गत जुलाई ८ मा ट्रम्पले युद्धविराम ‘समाप्त’ भएको भन्दै इरानी नेतृत्वको चर्को आलोचना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस