काठमाडौं, २९ साउन । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले ललितपुरमा केओभी हस्तान्तरण कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार (आज) आयोजना गरिएको उक्त कार्यक्रममा कोइका, स्वयंसेवक खटाइने संस्था तथा नवनियुक्त प्इख् का प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
इन्सिल पार्क १४ जुलाई २०२६ मा नेपाल आइपुगेकी थिइन् । उनले ललितपुरमा चार हप्ते अनुकूलन तथा परिचयात्मक तालिम सफलतापूर्वक पूरा गरेकी छन् । युन्सिल पार्कलाई काठमाडौँको कीर्तिपुर माध्यमिक विद्यालयमा प्रारम्भिक बाल विकास स्वयंसेवकका रूपमा खटाइएको छ । उनले अगस्ट १७, २०२६ देखि १ वर्षका लागि विद्यालयमा आफ्नो स्वयंसेवी सेवा आधिकारिक रूपमा सुरु गर्नेछिन् ।

कोइका नेपाल कार्यालयका राष्ट्रिय निर्देशक मुहोन कङले कोइका र केओभी कार्यक्रमलाई हार्दिक स्वागत गरेकोमा कीर्तिपुर माध्यमिक विद्यालय तथा यसको व्यवस्थापन समितिप्रति हार्दिक आभार व्यक्त गरे । उनले यो अवसरले केओभी कार्यक्रममार्फत विद्यालय र कोइकाबीचको निरन्तर साझेदारीको सुरुवात भएको उल्लेख गर्दै आगामी वर्षहरूमा सार्थक, दिगो र आपसमा लाभदायक सहकार्यको आशा व्यक्त गरे । यस्तो सहकार्यले विद्यालय र यहाँका विद्यार्थीहरूका लागि सकारात्मक तथा दीर्घकालीन नतिजा ल्याउन योगदान पुर्याउने कुरामा उनले जोड दिए । साथै, उनले केओभी युन्सिल पार्कलाई कीर्तिपुर माध्यमिक विद्यालयमा सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिए ।
केओभी कार्यक्रमको उद्देश्य कोरियाली ज्ञान र अनुभवहरूलाई तल्लो तहमा प्रत्यक्ष रूपमा हस्तान्तरण गर्नमा बढी केन्द्रित हुनु हो । यी कार्यक्रममार्फत साझेदार देशका नागरिकको जीवनस्तर सुधार गर्ने, कोरिया र साझेदार देशबीच मित्रता तथा पारस्परिक समझदारीलाई थप सुदृढ बनाउने र अन्तर्राष्ट्रिय समुदायले तय गरेका विकास लक्ष्य हासिल गर्ने प्रयासमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।

सन् १९९० देखि नेपाल सरकारको अनुरोधमा काठमाडौँ उपत्यकाभित्र र बाहिरका विभिन्न सरकारी निकायहरूमा कोइका स्वयंसेवकहरू खटाइँदै आइएको छ । उनीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि र पर्यटनलगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याएका छन् । हालसम्म नेपालमा ५०० जना स्वयंसेवकहरू खटाइइसकेका छन्, जसमध्ये ९ जना हाल काठमाडौँ, ललितपुर, इलाम, कैलाली, कास्की, बागलुङ र रुपन्देही जिल्लाका सरकारी निकायहरूमा सेवारत छन् ।
कोइका नेपाल कार्यालयले केओभी कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डहरू पालना गर्न आवश्यक सबै उपायहरू अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।