काठमाडौं, १७ साउन । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्रीमा बिल लिने–दिने संस्कृतिलाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सँगै नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
विभागले नयाँ पोर्टल सञ्चालनमा ल्याउँदै रु. १०० भन्दा बढीको नगद खरिद गर्ने उपभोक्ताहरूलाई आफ्ना बिल अनलाइन दर्ता गर्न आह्वान गरेको छ ।
यही श्रावण १ गतेदेखि खरिदमा लागू हुने गरी सञ्चालन गरिएको यो कार्यक्रममा नगद कारोबार गर्नेले अनिवार्य बिल दर्ता गर्नुपर्नेछ भने विद्युतीय भुक्तानी गर्नेहरूको खरिद भने स्वतः सहभागी हुने विभागले जनाएको छ ।
विभागका अनुसार स्व–प्रयोजनका लागि नेपालभित्र एक पटकमा रु. १०० भन्दा बढी मूल्यको वस्तु तथा सेवा नगद भुक्तानी गरी खरिद गर्ने उपभोक्ताहरूले उपहार कार्यक्रममा सहभागी हुन पाउनेछन् । यसका लागि उपभोक्ताहरूले २०८३ श्रावण १ गतेपछिका खरिद बिलको विवरण विभागको आधिकारिक वेबसाइट उचष्शभ.ष्चम.नयख.लउ मा गई समयमै प्रविष्ट (दर्ता) गर्नुपर्नेछ ।
यसैबीच, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्न भुक्तानी सेवा प्रदायकमार्फत गरिएका विद्युतीय खरिद भने प्रणालीमा स्वतः समावेश हुने विभागले जनाएको छ ।