काठमाडौं, ७ साउन । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयले काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२/८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको ९४ दशमलव ६४ प्रतिशत हो । आव २०८२/८३ का लागि कार्यालयलाई १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो ।
गत आवको संकलन भएको राजस्व अघिल्लो आव २०८१/८२ को तुलनामा भने १३ दशमलव ३४ प्रतिशतले बढेको छ से सो वर्षमा १५ अर्ब ५९ करोड रुपैयाँ संकलन भएको थियो ।
फागुन लगायतका केही महिनामा लक्ष्यभन्दा बढी असुली भए पनि अन्तिम चौमासिकमा व्यापारिक गतिविधि सुस्त हुँदा भन्सारले तोकिएको बजेट लक्ष्य भेट्याउन नसकेको हो ।
गत आवको फागुनमा मेची भन्सारले सबैभन्दा धेरै लक्ष्यको ११०.२५ प्रतिशत (१ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी) राजस्व संकलन गरेको थियो । त्यसै गरी असोजमा १०१.१७ प्रतिशत, पुसमा १०१.८८ प्रतिशत र माघमा १०२.३४ प्रतिशत राजस्व असुली भएको थियो ।
तथापि, कार्तिक महिनामा लक्ष्यको ७९.७९ प्रतिशत, वैशाखमा ८४.८४ प्रतिशत र जेठमा ८३.९४ प्रतिशत मात्र संकलन भएको थियो ।