सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर

अनलाइनसमय |
५ साउन २०८३
सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर

काठमाडौं, ५ साउन । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको घोषणा गरेका छन् । मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

‘यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो’, निर्णयबारे जानकारी दिँदै प्रधानमन्त्रीले भनेका छन् ।

३ प्रतिशत समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको पनि प्रधानमन्त्री शाहको भनाइ छ । साथै यसको उद्देश्य दलित, सीमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बिमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको पनि उनले बताए । करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य रहेको पनि उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले भनेका छन्, ‘नागरिक तहमा समता देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ । सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस