अब बैंकहरूले साउन १५ सम्म उठेको ब्याज असारकै नाफामा देखाउन पाउने

अनलाइनसमय |
३२ असार २०८३
अब बैंकहरूले साउन १५ सम्म उठेको ब्याज असारकै नाफामा देखाउन पाउने

काठमाडौं, ३२ असार । अब बैंकहरुले साउन १५ सम्म उठेको ब्याज असारकै नाफामा देखाउन पाउने भएका छन् । राष्ट्र बैंकले एकीकृत निर्देशन परिमार्जन गर्दै बैंकहरूले जेठ र असार मसान्तसम्ममा उठ्नुपर्ने ब्याज असारमसान्त सकिएको १५ दिनभित्र अर्थात् साउन १५ गतेभित्र असुल गरेमा त्यसलाई असारकै नाफा (सञ्चित मुनाफा वा वितरणयोग्य नाफा) मा गणना गर्न पाउने व्यवस्था गरेको हो ।

यसअघिको व्यवस्था अनुसार आर्थिक वर्ष समाप्त भएको दिन (असार मसान्त) सम्म बैंकको खातामा नगद प्राप्त भइसकेको ब्याज आम्दानीलाई मात्र सञ्चित मुनाफा मा देखाउन पाइन्थ्यो । प्रोदभावी आधारमा लेखाङ्कन गरिने तर असार मसान्तभित्र प्राप्त नभएको ब्याज आम्दानी बराबरको रकमबाट आयकर, कर्मचारी बोनस र विभिन्न वैधानिक कोषहरूमा छुट्ट्याएर बाँकी रहने सम्पूर्ण रकम अनिवार्य रूपमा नियामकीय कोषमा जम्मा गर्नुपथ्र्यो । यसले गर्दा कागजमा नाफा देखिए पनि बैंकहरूले त्यसलाई तत्काल वास्तविक नाफा वा लाभांशका रूपमा बाँड्न पाउँदैनथे ।

परिमार्जित नयाँ व्यवस्थाअनुसार बैंकहरूले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र (अर्थात् साउन १५ गतेभित्र) प्राप्त भएको ब्याज रकमलाई नियामकीय कोषमा लैजानु पर्ने छैन । साउन १५ भित्र उठेको यस्तो ब्याज रकमलाई बैंकहरूले सिधै असार मसान्तकै सञ्चित मुनाफामा खर्च गरी आफ्ना सेयरधनीहरूलाई लाभांश बाँड्न योग्य नाफाका रूपमा देखाउन पाउनेछन् ।

साउन १५ गतेपछि पनि उठ्न नसकेको बाँकी ब्याज रकमलाई मात्र नियमअनुसार नियामकीय कोषमा जम्मा गर्नुपर्नेछ । राष्ट्र बैंकको यो लचिलो नीतिले गर्दा बैंकहरूलाई असार मसान्तको अन्तिम दिनमा पर्ने ऋण असुलीको तीव्र दबाब कम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस