फाँसीवादी प्रवृत्तिविरुद्ध संयुक्त संघर्ष आवश्यक छ : ओली

अनलाइनसमय |
१७ असार २०८३
फाँसीवादी प्रवृत्तिविरुद्ध संयुक्त संघर्ष आवश्यक छ : ओली

काठमाडौं, १७ असार । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक प्रतिगामी र फाँसीवादी बाटोतर्फ जान नसक्ने बताएका छन्। उनले फाँसीवादी प्रवृत्तिको सामना गर्न समान सोच भएका सबै शक्तिबीच कार्यगत एकता गर्दै संयुक्त संघर्षमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

बुधबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सम्पर्क विशेष सङ्गठन कमिटीसँग आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

पार्टी एकताको प्रसंग उठाउँदै उनले अहिले एमालेलाई अन्य दलसँग एकीकरण गर्नुपर्ने अवस्था नरहेको सुनाए । एमाले देशव्यापी रूपमा फैलिएको, बलियो संगठन, स्पष्ट नीति र उद्देश्य बोकेको पार्टी भएकाले यसको संगठनलाई थप सुदृढ र विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

ओलीले एमालेको नीति, विचार र उद्देश्यलाई स्वीकार गरेर पार्टीमा आबद्ध हुन चाहनेहरूका लागि ढोका खुला रहेको उल्लेख गर्दै वर्तमान अवस्थामा पार्टी एकीकरण आफ्नो प्राथमिकता नभएको बताए ।

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले विकास र जनहितका क्षेत्रमा ऐतिहासिक तथा असाधारण काम गरेको दाबी पनि गरे । उनले एमालेले कुनै गलत काम नगरेको, बरु त्याग र तपस्याको बाटो अपनाएको भन्दै नेता–कार्यकर्तालाई आत्मविश्वासका साथ जनतामाझ पुगेर भ्रम चिर्न आग्रह गरे ।

उनले गत वर्ष भदौ २३ र २४ गते भएको घटनालाई एमालेको कमजोरी नभई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको दाबी गरे । उक्त घटनामा पार्टीमाथि आक्रमण भएको र त्यसबेला सुरक्षा संयन्त्र प्रभावकारी रूपमा परिचालित हुन नसकेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस