खामेनेईको अन्तिम संस्कार १३१ दिनपछि

अनलाइनसमय |
१७ असार २०८३
खामेनेईको अन्तिम संस्कार १३१ दिनपछि

काठमाडौं, १७ असार । इरानका पूर्वसर्वोच्च नेता अयातुल्लाह अली खामेनेईको हत्या भएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि उनको अन्तिम संस्कार हुन सकेको छैन । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरानस्थित भूमिगत संरचनामा गरेको आक्रमणमा खामेनेई मारिएको दाबी गरिएको थियो । घटनाको १३१ दिनपछि इरानी प्रशासनले जुलाई ४ देखि ९ सम्म उनको अन्तिम यात्रा र दाहसंस्कारको कार्यक्रम तय गरेको छ ।

इरानी अधिकारीहरूका अनुसार अन्तिम संस्कारमा भएको ढिलाइको प्रमुख कारण अमेरिका–इजरायलसँगको युद्ध, सुरक्षा चुनौती, कूटनीतिक अवस्था र धार्मिक पक्ष हुन् । युद्ध र त्यसपछिको वार्ताका कारण ठूलो सार्वजनिक कार्यक्रम आयोजना गर्दा शत्रुपक्षबाट आक्रमण हुन सक्ने जोखिम रहेकाले कार्यक्रम तत्काल नगरेको जनाइएको छ ।

इरानले खामेनेईलाई पराजित नेता नभइ ‘विजयी प्रतिरोध’को प्रतीकका रूपमा प्रस्तुत गर्न खोजेकाले पनि अन्तिम संस्कारको समय लम्बिएको विश्लेषकहरूले बताएका छन् । अमेरिकासँगको तनाव कम हुँदै शान्ति प्रक्रियातर्फ अघि बढेको अवस्थामै यस्तो कार्यक्रम राखेर राजनीतिक सन्देश दिन खोजिएको उनीहरूको भनाइ छ ।

यसअघि सन् १९८९ मा अयातुल्लाह रुहोल्लाह खुमैनी तथा २०२० मा अमेरिकी आक्रमणमा मारिएका जनरल कासिम सुलेमानीको शवयात्रामा भएको भागदौडबाट पाठ सिक्दै यसपटक अभूतपूर्व सुरक्षा तयारी गरिएको छ । लाखौँ मानिस सहभागी हुने अनुमान गरिएकाले भीड व्यवस्थापनका लागि विशेष संयन्त्र गठन गरिएको इरानी प्रशासनले जनाएको छ ।

खामेनेईको अन्तिम संस्कार सिया मुस्लिमहरूको पवित्र शोक महिना मुहर्रमसँग मिलाएर आयोजना गरिएको छ । जुलाई ९ मा हुने मुख्य धार्मिक कार्यक्रम इमाम सज्जादको शहादत दिवसको पूर्वसन्ध्यामा राखिएको छ । साथै, अन्तिम यात्रा जुलाई ४ बाट सुरु गरिनु अमेरिकाको २५०औँ स्वतन्त्रता दिवससँग पनि संयोग परेको छ, जसलाई केही विश्लेषकहरूले अमेरिकाविरुद्धको वैचारिक सन्देशका रूपमा व्याख्या गरेका छन् ।

कार्यक्रमअनुसार जुलाई ४ र ५ मा तेहरानस्थित इमाम खुमैनी मुसल्लामा बिदाइ समारोह हुनेछ । त्यहाँ तीन दिनसम्म सर्वसाधारणका लागि पार्थिव शरीर राखेर अन्तिम श्रद्धाञ्जली दिने व्यवस्था गरिनेछ । त्यसपछि जुलाई ६ मा इमाम हुसैन स्क्वायरदेखि स्वतन्त्रता स्क्वायरसम्म करिब १० किलोमिटर लामो शवयात्रा निकालिनेछ ।

तेहरानपछि पार्थिव शरीरलाई इराकका नजफ र कर्बला तथा त्यसपछि इरानका पवित्र सहर कोम र मशहद लगिने कार्यक्रम छ । इराकी धार्मिक तथा राजनीतिक नेतृत्वको आग्रहपछि ती सहरहरूलाई पनि अन्तिम यात्रामा समावेश गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस