काठमाडौं, १५ असार । भारतमा निर्वासनमा रहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसीनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन् । विद्यार्थी नेतृत्वको आन्दोलनपछि गत वर्ष सत्ता गुमाएर भारत पुगेकी हसीनाले आइतबार प्रकाशित एक अन्तर्वार्तामा आफू बङ्गलादेश फर्किने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
भारतीय सञ्चारमाध्यम एनडिटिभीसँगको अन्तर्वार्तामा उनले आफू मृत्युदण्डको फैसलाबाट नडराउने बताउँदै आफूमाथि लगाइएका आरोप र अदालतको निर्णयलाई अवैध, असंवैधानिक र राजनीतिक उद्देश्यबाट प्रेरित भएको टिप्पणी गरिन् ।
हसीनाले आफ्नो राजनीतिक यात्रामा पटक–पटक षड्यन्त्र भएको दाबी गर्दै जनताको मतबाट पाँच पटक प्रधानमन्त्री बन्न सफल भएको र देशको विकासमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरिन् ।
गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनले हसीनाको १५ वर्ष लामो शासन अन्त्य गरेपछि उनी केही निकट सहयोगीसहित भारत गएकी थिइन् । त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिइन् ।
गत नोभेम्बरमा ढाकाको अदालतले मानवता विरुद्धका अपराध, हिंसा भड्काएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न नसकेको अभियोगमा हसीनालाई अनुपस्थितिमै दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।