काठमाडौं, ९ असार । नेपाल र स्पेनबीच लगानी तथा व्यापारिक सहकार्य विस्तारका लागि दुवै देशका सरकारी अधिकारी र निजी क्षेत्रबीच छलफल भएको छ । स्पेनको राजधानी म्याड्रिडमा आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा नेपाली उद्योगीहरूले स्पेनिस लगानीकर्ता र व्यवसायीहरूलाई नेपालमा संयुक्त लगानी र व्यापारिक साझेदारीका लागि आह्वान गरेका हुन् ।
नेपाली राजदूतावासको आयोजनामा भएको उक्त मञ्चमा नेपालको गार्मेन्ट, कपडा (टेक्सटाइल) र हस्तकलाका गहना उद्योगमा स्पेनिस लगानी भित्र्याउने र नेपाली उत्पादनलाई स्पेनको बजारमा स्थापित गराउने विषयमा सघन छलफल भएको छ । यस मञ्चको उद्देश्य स्पेनका लगानीकर्ता तथा व्यवसायीहरू र नेपाल सरकार तथा निजी क्षेत्रबीचको दूरी घटाउनु रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यवाहक राजदूत पुरक अधिकारीले सहभागीलाई स्वागत गर्दै नेपाल र स्पेनबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका उच्च सम्भावना भएका क्षेत्रहरूमा साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले नेपालका उद्योगहरूलाई रैथाने प्रविधिको प्रयोग गरी नैतिक रूपमा प्राप्त कच्चा पदार्थमा आधारित पुस्तान्तरण उद्यमका रूपमा परिचय पनि गराए ।

त्यस्तै, नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यवाहक कार्यकारी निर्देशक नविन राज शर्माले नेपाल–स्पेन तयारी पोसाक (टेक्सटाइल) व्यापारको तथ्याङ्क प्रस्तुत गर्दै स्पेनिस बजारमा नेपाली कपडाका विभिन्न उत्पादनहरूको अवसरबारे प्रकाश पारे । उनले स्पेनिस उपभोक्ताहरूका लागि सबैभन्दा आशालाग्दा मानिएका विभिन्न नेपाली कपडा र तयारी पोसाकका उत्पादनहरू पनि प्रस्तुत गरे ।
नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द घिमिरे र उपाध्यक्ष देव आनन्द सरावगीले नेपाल–स्पेन व्यापारको इतिहास र यसको बनावटमाथि प्रकाश पार्दै संयुक्त प्रस्तुती दिँदै च्याङ्ग्रा ऊन, हिमाली भेडाको ऊन, गाँजा (हेम्प), र अल्लो (नेटल) जस्ता प्रिमियम प्राकृतिक रेशाबाट बनेका उत्पादनहरूको प्रतिस्पर्धी क्षमताबारे प्रकाश पारे । उनीहरूले हस्तनिर्मित चाँदीका गरगहना, जपमाला तथा परम्परागत आभूषणप्रति अन्तर्राष्ट्रिय विशिष्ट बजारमा बढ्दो आकर्षण रहेको उल्लेख गरे ।

नेपाल गार्मेन्ट सङ्घका अध्यक्ष पशुपति देव पाण्डेले कानुनी तथा नीतिगत सुधारका कारण नेपाली तयारी पोसाक उद्योगमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति भएको बताए । उनले दुवै देशका व्यावसायिक समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
मञ्चलाई सम्बोधन गर्दै स्पेनको चेम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय सम्बन्ध उपनिर्देशक लुइस रोड्रिगेजले चेम्बरको कामकारबाहीबारे जानकारी गराउँदै स्पेनको गहना तथा फेसन उद्योगको गतिशीलतामाथि प्रकाश प्रकाश पारे । उनले स्पेनिस उपभोक्ताहरू अद्वितीय अन्तर्राष्ट्रिय उत्पादनहरूप्रति बढी सकारात्मक बन्दै गएको उल्लेख गर्दै व्यवसायदेखि व्यवसायबीचको बलियो साझेदारीले नेपाल–स्पेन व्यावसायिक सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
कार्यक्रम प्रश्नोत्तर र संक्षिप्त सञ्जाल विस्तार (नेटवर्किङ) सत्रसँगै समापन भएको थियो। उक्त कार्यक्रममा स्पेनिस टेक्सटाइल र गहना कम्पनीका व्यावसायिक प्रतिनिधिहरू, लगानी एजेन्सीहरू, सरकारी अधिकारीहरू र स्पेनिस सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।