१५८ देशसँग नेपालको व्यापार, ३४ सँग मात्रै बचतमा

अनलाइनसमय |
९ असार २०८३
१५८ देशसँग नेपालको व्यापार, ३४ सँग मात्रै बचतमा

काठमाडौं, ९ असार । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को एघार महिनामा नेपालले १५८ मुलुकसँग व्यापार गरेको छ, जसमध्ये ३४ मुलुकसँग मात्रै व्यापार बचतमा छ । बाँकी सबै मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको जेठ मसान्तसम्ममा व्यापार बचतमा रहेका मुलुकमध्ये सबैभन्दा अगाडि डेनमार्क छ । सो अवधिमा नेपाल डेनमार्कसँग ७२ करोड ४१ लाखभन्दा बढिको बचतमा छ । ११ महिनामा नेपालले डेनमार्कतर्फ ९० करोड ६८ लाख मूल्यभन्दा बढीको वस्तु निर्यात गरेको छ भने १८ करोड २७ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।

डेनमार्कपछि नेपाल सबैभन्दा धेरै रोमानिया बचतमा छ । जेठसम्ममा नेपालले रोमानियातर्फ ८ करोड ८० लाखभन्दा बढीको वस्तु निर्यात गरेको छ भने ४ करोड ३७ लाख मूल्य बराबरको वस्तु आयात गरेको छ । अर्थात नेपाल सो अवधिमा रोमानियासँग ४ करोड ४३ लाख रुपैयाँले बचतमा छ ।

नेपालको सोमोआसँग २ करोड ७८ लाख मूल्य बराबरको व्यापार बचतमा छ । सो अवधिमा नेपालले त्यसतर्फ २ करोड ७८ लाख मूल्य बराबरको वस्तु निर्यात गर्दा आयात शुन्य छ ।

यसैगरी चालू आवको जेठसम्ममा नेपालले १५८ मलुकसँग व्यापार गर्दा १२४ मुलुकसँग व्यापार घाटा बेहोरेको छ । व्यापार घाटामा रहेका मुलुकमध्ये सबैभन्दा बढी छिमेकी राष्ट्र भारतसँग छ । जेठसम्ममा नेपालले भारतसँग मात्रै ८ खर्ब ६३ अर्ब ३८ करोडभन्दा बढिको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा नेपालले भारतबाट १० खर्ब ९२ अर्ब २ करोड मूल्य बराबरको वस्तु आयात गरेको छ भने भारततर्फ २ खर्ब २८ अर्ब १३ करोडको वस्तु निर्यात गरेको छ ।

भारतपछि नेपालले अर्काे छिमेकी मुलुक चीनसँग सबैभन्दा धेरै व्यापार घाटा बेहोरेको छ । एघार महिनामा नेपालले चीनतर्फ १ अर्ब ५९ करोड मूल्य बराबरको वस्तु निर्यात गर्दा आयात भने ३ खर्ब ८२ अर्ब २४ करोडभन्दा बढीको वस्तु आयात गरेको छ । अर्थात सो अवधिमा नेपालले चीनसँग ३ खर्ब ८० अर्ब अर्बभन्दा धेरैको व्यापार घाटा बेहोरेको छ ।

यस्तै अर्जेन्टिनासँग १ खर्ब ५० अर्ब, युएईसँग ४९ अर्ब ३६ करोड, इन्डोनेसियासँग २० अर्ब ६१ करोड मूल्य बराबरको व्यापार घाटा बेहोरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस