नेपाल फेरी पनि सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा

अनलाइनसमय |
८ असार २०८३
नेपाल फेरी पनि सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा

काठमाडौं, ८ असार । नेपाल फेरी पनि सम्पत्ति शुद्धीकरणको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा परेको छ ।
फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई उक्त सूचीमा राखेको हो ।

नेपालले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणको केही प्रगति भने गरेको एफएटीएफले जनाएको छ ।

सन् २०२५ फेब्रुअरीमा नेपालले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) र एसिया प्रशान्त समूह (एपीजी) सँग आफ्नो वित्तीय प्रणालीको प्रभावकारिता बढाउन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता व्यक्त गरेको थियो । त्यसयता नेपालले आतंकवादी क्रियाकलाप र आमविनाशका हतियार निर्माणमा हुने वित्तीय लगानी नियन्त्रणसम्बन्धी लक्षित वित्तीय प्रतिबन्धका प्राविधिक कमजोरीहरू सुधार गर्न केही कदम चालेको छ ।

एफएटीएफले नेपालले तत्काल ६ वटा कार्ययोजना सुधार गर्न सुझाव दिएको छ । यस्ता छन् ६ बुँदे सुझाव :
१.सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी (एमएल टीएफ) सँग जोडिएका प्रमुख जोखिमहरूको बुझाईमा सुधार गर्नुपर्ने
२. वाणिज्य बैंकहरू, उच्च जोखिमयुक्त सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसायी डीपीएमएस) र घरजग्गा (रियल इस्टेट) क्षेत्रको जोखिममा आधारित सुपरिवेक्षणलाई बलियो बनाउनुपर्ने ।
३. हुन्डी कारोबारीमाथि कारबाहीः वित्तीय समावेशीकरणमा बाधा नपु¥याई गैरकानुनी रूपमा सञ्चालनमा रहेका मुख्य हुन्डी तथा अवैध वित्तीय स्थानान्तरण (एमभिटीएस) प्रदायकहरूलाई कारबाही गरेर देखाउनुपर्ने ।
४. सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्ने सक्षम निकायहरूको क्षमता बढाउनुपर्ने र तिनीहरूबीचको आपसी समन्वयलाई सुदृढ गर्नुपर्ने ।
५.सम्पत्ति शुद्धीकरणविरुद्ध भइरहेका अनुसन्धान र अदालतमा दर्ता गरिने मुद्दाको संख्यामा वृद्धि भएको पुष्टि गर्नुपर्ने ।
६. देशको जोखिम प्रोफाइल अनुसार अपराधबाट आर्जित सम्पत्ति र अपराधमा प्रयोग भएका साधनहरूको पहिचान, खोजी, रोक्का तथा जफत गर्ने कार्यलाई प्रभावकारी बनाउनुपर्ने ।

एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न संसारभरका मुलुकहरुले खडा गरेको अन्तरसरकारी निकाय हो । यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ‘ब्ल्याक लिस्ट’ तथा ‘ग्रे–लिस्ट’मा राख्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस