काठमाडौं, ५ असार । राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत भएको छ ।
शुक्रबार बसेको बैठकबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि प्रस्तुत भएको थियो । यी चार वटै अध्यादेशसभाले स्वीकृत गरेको हो ।
यसअघि आजै बसेको प्रतिनिधिसभाले पनि यी चार वटा अध्यादेश स्वीकृत गरेको थियो ।
सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेस भएका थिए । यसमध्ये चार वटा अध्यादेश मात्रै शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट स्वीकृत भएका हुन् ।