काठमाडौं, ५ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वमा ‘सबै मोर्चामा पूर्ण युद्धविराम’ को अपेक्षा गरेको बताउँदै त्यहाँका सबै पक्षलाई आफ्नो प्रतिबद्धता पालना गर्न आग्रह गरेका छन् ।
बिहीबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘हामी लेबनान, हेजबुल्लाह र इजरायललगायत सबै मोर्चाहरूमा पूर्ण युद्धविरामको अपेक्षा गर्दछौँ ।’
उनले अगाडि थपेका छन्, ‘संयुक्त राज्य अमेरिका शान्तिका लागि प्रतिबद्ध छ । हाम्रो वार्ता प्रक्रियालाई राम्रोसँग अगाडि बढाउनका लागि मध्यपूर्व क्षेत्रका सबैले आ–आफ्नो प्रतिबद्धता कायम राख्न हामी प्रोत्साहन गर्दछौँ ।’
राष्ट्रपति ट्रम्पले बुधबार मात्रै फ्रान्समा इरानसँग एउटा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए । यस समझदारीसँगै बिहीबारदेखि ६० दिने वार्ताको अवधि सुरु भएको छ, जसको मुख्य उद्देश्य अन्तिम शान्ति सम्झौतामा पुग्नु हो ।
उक्त समझदारी पत्रमा लेबनानसहित सबै मोर्चाहरूमा सैन्य कारबाही तत्काल र स्थायी रूपमा बन्द गर्ने उल्लेख गरिएको छ । यद्यपि, इजरायलले भने लेबनानबाट आफ्ना सेना फिर्ता गर्ने आफ्नो कुनै इरादा नरहेको स्पष्ट पारेको छ ।