काठमाडौं, ४ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसैका कारण अहिले कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशको तराईका पनि एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।