काठमाडौं, ३ असार । गत महिना वैशाखको तुलनामा जेठमा नेपालको सार्वजनिक ऋण दायित्व घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को जेठ मसान्तसम्ममा सरकारको सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो महिना वैशाखमा यस्तो ऋण २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको थियो ।
जेठमा ऋण भुक्तानीमा वृद्धि भएसँगै यसको दायित्व पनि घटेको हो । सरकारले जेठमा मात्रै १० अर्ब १९ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ, जसमध्ये ८ अर्ब ५८ करोड सावाँ र १ अर्ब ६१ करोड ब्याज भुक्तानी गरेको हो । गत वैशाखमा ७ अर्ब २५ करोड, चैतमा ११ अर्ब ५९ करोड, फागुनमा ४ अर्ब ४१ करोड, माघमा १ अर्ब ४ करोड भुक्तानी गरेको थियो ।
यस्तै, १० महिनामा सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा झन्डै साढे ३ खर्बभन्दा बढी खर्च गरिसकेको छ । कार्यालयका अनुसार जेठसम्म ३ खर्ब ५१ अर्ब ७४ करोड ऋण भुक्तानी गरेको छ । चालू आवमा सरकारले सोही प्रयोजनका लागि ४ खर्ब ११ अर्ब १ करोड विनियोजन गरेको छ ।
यस वर्ष आन्तरिक ऋणको साँवा भुक्तानी २ खर्ब २९ अर्ब ६० करोड करोड र ब्याज भुक्तानी ५५ अर्ब ६१ करोड बराबर भएको छ । बाह्य ऋणको साँवा भुक्तानी ५४ अर्ब ५४ करोड र ब्याज भुक्तानी ११ अर्ब ६७ करोड बराबर भएको छ ।
यसैगरी, ११ महिना अवधिमा सार्वजनिक ऋण २ खर्ब ८७ अर्ब १५ करोड रुपैयाँ थपिएको छ । चालू आवको शरुुमा सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड थियो ।
कार्यालयको तथ्याङ्क अनुसार सरकारले चालू आवको वैशाखसान्तसम्म सबैभन्दा बढी बाह्य ऋण तिर्न बाँकी छ । सो अवधिमा सरकारले बाह्य ऋण १५ खर्ब ८३ अर्ब ९१ करोड तिर्न बाँकी छ । त्यस्तै आन्तरिक ऋण १३ खर्ब ७७ अर्ब २८ करोड तिर्न बाँकी छ ।