आजदेखि माउन्ट एभरेष्ट पावरको आईपीओ खुला

अनलाइनसमय |
३ असार २०८३
आजदेखि माउन्ट एभरेष्ट पावरको आईपीओ खुला

काठमाडौं, ३ जेठ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज असार ३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई तथा १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँट सम्पन्न भइसकेको छ ।

यस्तै, ३४ हजार ४०० कित्ता शेयर कर्मचारीका लागि र ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

कम्पनीले अब बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरको मूल्य १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार आईपीओमा आवेदन दिने अवधि छिटोमा असार ८ गतेसम्म रहनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार १७ गतेसम्म लम्बिनेछ ।

कम्पनीको वित्तीय तथा दायित्व वहन क्षमताको मूल्यांकन गर्दै केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीमा मध्यम स्तरको वित्तीय जोखिम रहेको संकेत गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस