कोशीमा ४.४ प्रतिशतले घट्यो कृषि उत्पादन

अनलाइनसमय |
२ असार २०८३
कोशीमा ४.४ प्रतिशतले घट्यो कृषि उत्पादन

काठमाडौं, २ असार । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को तुलनामा कोशी प्रदेशमा कृषि उत्पादन घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार चालू आवको को पहिलो ६ महिनामा कोशी प्रदेशमा समग्र कृषिजन्य उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले घटेर ५० लाख ३० हजार ६ सय ७७ मेट्रिक टन रहेको छ । गत वर्षको सोही अवधिमा समग्र कृषिजन्य उत्पादन ७.० प्रतिशतले बढेको थियो ।

चालू आवको ६ महिनामा खाद्य, नगदे तथा अन्य बालीको उत्पादन गत वर्षको सोही अवधिको तुलनामा ३.९ प्रतिशतले घटेर ३९ लाख ७८ हजार ४ सय २१ मेट्रिक टन रहेको छ । गत वर्षको सोही अवधिमा उक्त बालीको उत्पादन ११.३ प्रतिशतले बढेको थियो ।

कोशीमा प्रमुख खाद्य तथा अन्य बालीको उत्पादनमध्ये धान उत्पादनको अंश सबैभन्दा बढी ३५.४ प्रतिशत, मकै उत्पादनको २९.४ प्रतिशत, गहुँ उत्पादनको ३.५ प्रतिशत, कोदो उत्पादनको २.२ प्रतिशत र आलु उत्पादनको २१.९ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा मकै, गहुँ, कोदो, जौं, फापर र आलु उत्पादन क्रमश ः ०.३ प्रतिशत, २.५ प्रतिशत, ०.३ प्रतिशत, १३.७ प्रतिशत, २.५ प्रतिशत र २.० प्रतिशतले बढेको छ भने धान, उखु, सनपाट र भटमासको उत्पादनमा क्रमश ः ४.० प्रतिशत, ३७.४ प्रतिशत, २२.२ प्रतिशत र ०.५ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवमा पहिलो ६ महिनाको अवधिमा तरकारी तथा बागवानी बालीको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले घटेर ६ लाख ८६ हजार ३ सय ७७ मेट्रिक टन रहेको छ । गत वर्ष यस्तो उत्पादन ४.८ प्रतिशतले बढेको थियो ।
तराई क्षेत्रका जिल्ला मोरङ र झापामा अति भारी वर्षा, बाढी, डुवानका कारण तरकारी तथा बागवानीसँग सम्बन्धित उत्पादनमा ह्रास आएकोले समग्रमा तरकारी बाली उत्पादनमा कमी आएको प्रतिवेदनमा उल्ल्ेख छ ।

यसैगरी, फलफूलको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.६ प्रतिशतले कमी आई २ लाख ६ हजार ३ सय ९६ मेट्रिक टन रहेको छ । आँप तथा केराको उत्पादन घटेकाले समग्रमा फलफूल उत्पादन घटेको हो । प्रदेशको फलफूल उत्पादनमा झापा जिल्लाको हिस्सा सबैभन्दा बढी २४.४ प्रतिशत र ओखलढुंङ्गा जिल्लाको हिस्सा सबैभन्दा कम ०.८ प्रतिशत रहेको छ ।

चिया तथा कफीको उत्पादन १.० प्रतिशतले वृद्घि भई २७ हजार ६ सय ७१ मेट्रिक टन रहेको छ । यस प्रदेशमा कुल चिया उत्पादनको ९८.७ प्रतिशत हिस्सा झापा र इलाम जिल्लाको रहेको छ भने कुल कफी उत्पादनमा पाँचथर जिल्लाको हिस्सा सबैभन्दा बढी ३८.४ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस