काठमाडौँ, २ असार । चीनले नेपालमा चिनियाँ कम्पनीलाई व्यावसायिक वातावरण बनाइदिन आग्रह गरेको छ ।
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच सोमबार बेइजिङमा द्विपक्षीय वार्ताका क्रममा चीनले चिनियाँ उद्योगी तथा व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन प्रोत्साहन गरिरहेको उल्लेख गर्दै त्यसका लागि अनुकूल, निष्पक्ष र पारदर्शी व्यावसायिक वातावरण बनाउन नेपालसँग आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
चिनियाँ समकक्षीको आग्रहको जवाफ दिँदै नेपालका परराष्ट्रमन्त्री शिशिरले चीनको आर्थिक विकास नेपालका लागि ठूलो अवसर भएको बताए । उनले चिनियाँ लगानीलाई स्वागत गर्दै भने, ‘हामी चिनियाँ उद्योगीहरूका लागि निष्पक्ष, कानुनी शासनयुक्त र मैत्रीपूर्ण व्यावसायिक वातावरण उपलब्ध गराउन पूर्ण रूपमा तयार छौँ ।’
यसैगरी, वार्ताका क्रममा विदेशमन्त्री वाङ यीले नेपालको विकास, पुनरुत्थान र आधुनिकीकरणको प्रक्रियामा चीन सधैं विश्वास गर्न सकिने भरपर्दो छिमेकी रहेको बताए । उनले उच्च गुणस्तरको ‘बेल्ट एण्ड रोड’ (बीआरआई) सहकार्य मार्फत विद्युत ग्रिड, सडक, नाका र उड्डयन जस्ता भौतिक पूर्वाधारका क्षेत्रमा ध्यान केन्द्रित गर्दै नेपाललाई ‘भूपरिवेष्ठित’ बाट ‘भूजडित’ देशमा रूपान्तरण गर्न चीन इच्छुक रहेको उल्लेख गरे । इतिहास र तथ्यले चीन–नेपाल मित्रता नेपालको मूलभूत हितमा रहेको प्रमाणित गरिसकेको भन्दै उनले व्यावसायिक सहकार्यलाई थप तीव्र बनाउनुपर्नेमा जोड दिए ।
नेपालले ‘एक चीन सिद्धान्त’ लाई दृढतापूर्वक पालना गरेको तथा ताइवान र तिब्बत जस्ता चीनको कोर इन्ट्रेस्ट (मुख्य हित) का मामिलामा पुर्याएको समर्थनको विदेशमन्त्री वाङ यीले उच्च प्रशंसा गरे । चीनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सधैं सम्मान गर्ने र नयाँ सरकारलाई सहयोग गर्ने उनले बताए ।
साथै, परराष्ट्रमन्त्री खनाललेले ताइवान र तिब्बत चीनको आन्तरिक मामिला भएको स्पष्ट पार्दै नेपाली भूमिलाई चीनको हित विरुद्ध प्रयोग हुन कदापि नदिने दृढता दोहोर्याए । नेपालले चीनको गरिबी निवारण र पर्यावरण संरक्षणको सफलताबाट सिक्न चाहेको र चीनको विश्वव्यापी विकास प्रयासहरूलाई समर्थन गर्ने समेत उनले बताए ।
भेटवार्तामा दुवै देशका विदेशमन्त्रीहरूले आपसी राजनीतिक विश्वास बढाउँदै अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा बहुपक्षीय समन्वय गरेर अघि बढ्ने सहमति जनाएका छन् ।