काठमाडौं, १ असार । अमेरिका र इरानले आफूहरूबीच जारी सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको घोषणा गरेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले शान्ति सम्झौता भएको बताएका छन । उनका अनुसार लेबननसहित सबै मोर्चामा हुने सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको छ ।
इरानका उपविदेशमन्त्रीले पनि सम्झौताको प्रारूपमा सहमति भएको पुष्टि गरेका छन् । यस सम्झौतामा आगामी शुक्रबार स्विट्जरल्याण्डमा औपचारिक हस्ताक्षर हुने तय भएको छ ।
इरानको उच्च सैन्य कमाण्डले भने यस सम्झौतालाई ‘तेहरान (इरान) को ठूलो जित’ को रूपमा व्याख्या गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सम्झौता पूरा भएकोमा खुसी व्यक्त गर्दै भनेका छन्, ‘अब तेलको प्रवाह सुरु हुनेछ ।’ उनले स्ट्रेट अफ होर्मुजको प्रयोग स्थायी रूपमा निःशुल्क हुने पनि बताएका छन् ।
इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग बन्द गर्दा विश्वभर तेल र ग्यास आपूर्ति ठप्प भएको थियो । सम्झौतापछि यो मार्ग पुनः खुल्ने विश्वासका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको छ ।
यो भयानक युद्धको सुरुवात गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका विभिन्न स्थानहरूमा गरेका हवाई आक्रमणहरूबाट भएको थियो । प्रतिशोधमा इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि मिसाइल प्रहार गरेको थियो । साथै, विश्वको प्रमुख तेल ढुवानी मार्ग ‘स्ट्रेट अफ हर्मुज’ लाई पूर्ण रूपमा बन्द गरिदिएपछि विश्वभर इन्धन संकट चुलिएको थियो ।
अमेरिकी विदेश मन्त्रालयका संवाददाता टम बेटम्यानका अनुसार सम्झौताले तत्कालका लागि युद्धविराम र व्यापारिक मार्ग खोल्ने ठूलो उपलब्धि हासिल गरेको छ । यद्यपि, केही प्राविधिक र दीर्घकालीन बुँदाहरूलाई अझै अन्तिम रूप दिन बाँकी छ । तत्काल युद्धको अन्त्य गर्ने, लेबनान मोर्चामा सैन्य कारबाहीको अन्त्य र हर्मुज जलमार्ग खुला गर्ने सहमति भएको बताइएको छ ।
यसैबीच, फ्रान्सको एक प्रसिद्ध ताल किनारमा अवस्थित रिसोर्टमा आज संसारका शक्तिशाली राष्ट्रहरूको समूह जी–७ का नेताहरूको विशेष बैठक बस्दैछ । यो बैठकमा अमेरिका–इरान शान्ति सम्झौता र यसले विश्व राजनीतिमा पार्ने प्रभावबारे प्रमुखताका साथ छलफल हुने बताइएको छ । शुक्रबार स्विट्जरल्याण्डमा हुने हस्ताक्षरले मध्यपूर्वमा शान्ति स्थापना गर्ने कि नगर्ने भन्ने कुरा आगामी दिनमा दुवै देशले गर्ने सर्तहरूको पालनामा निर्भर रहनेछ ।