काठमाडौं, ३१ जेठ । नेपालस्थित गणतन्त्र कोरियाको दूतावासको आयोजनामा काठमाडौंको ठमेलस्थित छाँया सेन्टरमा ‘के–भाइब फेस्टिभल ः ग्लो एन्ड टेस्ट’ भव्य रूपमा सम्पन्न भएको छ ।
गत शनिबार, (जुन ६, २०२६) मा दिउँसो १२ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन भएको उक्त फेस्टिभलमा २ हजार पाँच सयभन्दा बढी कोरियाली संस्कृति प्रेमीहरूको सहभागिता रहेको दूतावासले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले के–ब्युटी उत्पादन तथा प्रशिक्षण कक्षा, के–फुड, के–पप नृत्य, हानबोक (कोरियाली परम्परागत पोशाक) लगाउने अनुभव तथा कोरिया सम्बन्धी प्रश्नोत्तरी प्रतियोगितालगायत विविध सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसर पाएका थिए ।

सबैका लागि निःशुल्क प्रवेश को व्यवस्था गरिएको यस महोत्सवको मुख्य उद्देश्य नेपालीहरूलाई कोरियाको उत्कृष्ट सौन्दर्य, संस्कृति र स्वादिष्ट स्वादहरूको प्रत्यक्ष अनुभव गराउनु रहेको थियो ।

यसका साथै, फेस्टिभल अझ बढी मनोरञ्जक र अन्तरक्रियात्मक बनाउन विभिन्न रमाइला खेल तथा गतिविधिहरू समेत समावेश गरिएका थिए, जहाँ विजेताहरूले आकर्षक पुरस्कारहरू प्राप्त गरेका थिए ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङले नेपाली युवामाझ कोरियाली संस्कृति, विशेषगरी के–ब्युटीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै दूतावासले कार्यक्रम आयोजना गरेको बताए । नेपाल र दक्षिण कोरियाका नागरिकबीच सांस्कृतिक आदानप्रदान तथा सहकार्यलाई थप विस्तार गर्न दूतावास प्रतिबद्ध रहेको उनले बताए ।
कार्यक्रममा नेपालस्थित कोइका कोइका र कोपिया कार्यालयले क्रमश: बडी पेन्टिङ तथा बीउ आलुको बिरुवा वितरणसम्बन्धी अन्तरक्रियात्मक स्टल सञ्चालन गरेका थिए । साथै, ईपीएस सेन्टरले कोरियाली भाषा सम्बन्धी पाठ्यपुस्तकहरू पुरस्कारस्वरूप उपलब्ध गराएर कार्यक्रमलाई सहयोग गरेको थियो ।
