काठमाडौं, २९ असार । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा उनको योगदानको सम्मानस्वरूप माल्यार्पण, प्रभातफेरी, रामायण वाचन तथा साहित्यिक कार्यक्रम आयोजना गरिएका छन् ।
संस्कृत भाषामा रचित रामायणलाई सरल नेपाली भाषामा भावानुवाद गरी सर्वसाधारणसम्म पुर्याउने भानुभक्तको योगदान नेपाली साहित्यको इतिहासमा महत्वपूर्ण मानिन्छ ।
इतिहासकार तथा साहित्यकारहरूले पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकृत गरेको नेपाललाई भानुभक्तले भाषा, साहित्य र संस्कृतिको माध्यमबाट भावनात्मक रूपमा जोड्ने काम गरेको उल्लेख गर्दै आएका छन् ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त सामान्य घाँसीसँग भएको भेटपछि प्रेरित भई नेपाली भाषामा रामायण लेख्न अग्रसर भएको किंवदन्ती प्रचलित छ । समाजका लागि सम्झनलायक काम गर्नुपर्छ भन्ने सन्देशबाट प्रभावित भएर उनले साहित्य सिर्जनामा समर्पित जीवन बिताएका थिए ।
रामायणबाहेक ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ लगायतका कृतिमार्फत पनि उनले नेपाली साहित्यलाई समृद्ध बनाएका छन् । राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना र नेपाली भाषाको विकासमा उनको योगदान ऐतिहासिक मानिन्छ ।