आइतबार चीन जाँदै परराष्ट्रमन्त्री खनाल

अनलाइनसमय |
२९ जेठ २०८३
आइतबार चीन जाँदै परराष्ट्रमन्त्री खनाल

काठमाडौं, २९ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी आइतबार छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको असार ३१ देखि असार ३ गतेसम्म हुने चार दिने औपचारिक भ्रमणबारे जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीन बसाइका क्रममा मन्त्री खनालले त्यहाँका अन्य उच्चस्तरीय नेता तथा विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट गर्नेछन् ।

भ्रमणकै सिलसिलामा मन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना गरिने ‘लगानी सम्मेलन’ मा सहभागी हुनेछन् । नेपालमा वैदेशिक लगानी भित्र्याउने र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त सम्मेलनमा उनले चिनियाँ व्यवसायीहरूसँग विशेष अन्तरक्रिया समेत गर्नछन् ।

साथै, मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट र संवाद गर्नेकार्यक्रम पनि छ । परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते काठमाडौँ फर्कनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस