काठमाडौं, २८ जेठ । अमेरिकी सेनाको आक्रमणमा परी एक तेल ट्याङ्करमा रहेका तीन जना भारतीय नागरिकको मृत्यु भएको छ ।
यस घटनालाई भारतका जहाज मन्त्रालयका मन्त्री सर्वानन्द सोनोवालले ‘अत्यन्तै दुर्भाग्यपूर्ण’ र ‘गहिरो क्षति’ भन्दै दुःख व्यक्त गरेका छन् ।
पलाउको झण्डा अंकित ‘सेटेबेलो’ नामक तेल ट्याङ्करमा २४ जना भारतीय चालक दलका सदस्यहरू सवार थिए । अमेरिकी केन्द्रीय कमान्डका अनुसार उक्त जहाजले इरानबाट तेल ओसारपसार गरेर अमेरिकी नाकाबन्दीको उल्लंघन गरेको आरोप लगाइएको थियो । अमेरिकी सेनाले दिएको निर्देशनलाई जहाजका चालक दलले ‘पटक–पटक पालना नगरेपछि’ जहाजको इन्जिन कोठामा हतियार प्रहार गरिएको अमेरिकी दाबी छ ।
आक्रमणपछि चालक दलका २४ सदस्यमध्ये २१ जनालाई सकुशल उद्धार गरिएको छ भने ३ जनाको मृत्यु भएको बीबीसीमा उल्लेख छ ।
‘फरवार्ड सिमेन युनियन अफ इन्डिया’का महासचिव मनोज यादवले अमेरिकी कदमको कडा आलोचना गरेका छन् । अमेरिकी सेनालाई जहाजमा कुन देशका नागरिक छन् भन्ने कुरा थाहा थिएन भनेर पत्याउन नसकिने उनले बताए । जहाजमाथि सिधै मिसाइल वा हतियार प्रहार गर्नुको साटो जहाजलाई नियन्त्रणमा लिनु उपयुक्त र सुरक्षित विकल्प हुने उनको भनाइ छ ।
भारतीय चालक दल रहेका जहाजमाथि यो हप्ता भएको यो दोस्रो आक्रमण हो । यसअघि गत सोमबार मात्र ओमानको खाडीमा अमेरिकी निर्देशन पालना नगरेको आरोपमा पलाउकै झण्डा रहेको ‘मारिभेक्स’ नामक अर्को तेल ट्याङ्करमा पनि अमेरिकी सेनाले आक्रमण गरेको थियो । यद्यपि, सो घटनामा ओमानको सेनाले जहाजमा रहेका सबै २४ जना भारतीय चालक दलका सदस्यहरूलाई सकुशल उद्धार गरेको थियो ।