काठमाडौं, २७ जेठ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ५७ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ७३६ दशमलव १७ को बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार परिसूचक १ दशमलव ५४ अङ्कले घटेर २,७३३ को बिन्दुमा कायम भएको थियो ।
आज नेप्सेमा सामान्य अङ्कको वृद्धि भए पनि कारोबार रकम भने घटेको छ । मंगलबार ६ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब २९ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ९२ लाख ८३ हजार ३२६ कित्ता शेयर ४९ हजार २४८ पटक किनबेच भएको छ ।
बुधबार ३५६ धितोपत्र कारोबारमा आए, जसमध्ये १२७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १३४ धितोपत्रको मूल्य बढेको छ भने १० वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक बढ्दा ५ समूहको उपसूचक घटेको छ । यस दिन हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा धेरै ०.६५ प्रतिशतले बढेको छ । त्यस्तै, होटेल एण्ड टुरिजमको ०.५४, विकास बैंकको ०.२१, उत्पादनमुलक समूहको ०.१८, फाइनान्सको ०.८ र म्युचुअल फण्डको ०.१ प्रतिशतले बढेको छ ।
व्यापार समूहको उपसूचक ०.४३, निर्जीवन बीमाको ०.२४, जीवन बीमाको ०.३२, र लगानी समूहको उपसूचक ०.८ प्रतिशतले घटेको छ ।
बुधबार कालिञ्चोक हाइड्रोपावर र सोपान फार्मास्यूटिकल्सको शेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, सम्तकोशी विकास बैंकको १०.८७, बुङ्गल हाइड्रोको ६.८ र कुथेली बुखारी स्मल हाइड्रोको ६.५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज उपकार लघुवित्तको ८.७१ प्रतिशत र अपर लोहर खोलाको ६.७५ प्रतिशतले शेयर मूल्य घटेको छ ।