अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकी हवाई आक्रमण

अनलाइनसमय |
२७ जेठ २०८३
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकी हवाई आक्रमण

काठमाडौं, खाडी क्षेत्रमा आफ्नो एउटा हेलिकप्टर खसालिएपछि अमेरिकी सेनाले इरानका सैन्य र निगरानी ठेगानाहरूमा शक्तिशाली हवाई आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार स्ट्रेट अफ हर्मुज नजिकै रहेका इरानका वायु रक्षा प्रणाली, ग्राउन्ड कन्ट्रोल स्टेशन र राडार केन्द्रहरूलाई निशाना बनाइएको हो ।

यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य बेसका २१ वटा केन्द्रहरूमा आक्रमण गरेको दाबी गरेको छ । कुवेतले पनि आफ्नो आकाशतर्फ आएका आक्रमणहरूलाई निष्कृय पारेको जनाएको छ ।
गत सोमबार अमेरिकाको एउटा ‘अपाचे’ हेलिकप्टर खाडी क्षेत्रमा खसेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकप्टरमा सवार दुवै पाइलट सुरक्षित रहेको र उनीहरूलाई अमेरिकी समुद्री ड्रोनको सहयोगमा उद्धार गरिएको जानकारी दिएका छन् । अमेरिकी इतिहासमा यसरी समुद्री ड्रोन प्रयोग गरेर उद्धार गरिएको यो पहिलो घटना हो ।

अमेरिकाले उक्त हेलिकप्टर इरानी ड्रोनको हमलाका कारण खसेको दाबी गरेको छ, यद्यपि इरानले भने यसको जिम्मेवारी लिएको छैन ।
राष्ट्रपति ट्रम्पले आफ्ना पाइलट सुरक्षित भए पनि यो आक्रमणको जवाफ दिनु अनिवार्य भएको बताएका छन् । अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोनसनले ट्रम्पसँगकै बैठकपछि इरानमाथि आक्रमण गर्ने निर्णय भएको पुष्टि गरे ।

अमेरिकाले आफ्नो आक्रमणलाई समानुपातिक जवाफ भनेको छ भने इरानले यसलाई ‘क्रूर’ कदमको संज्ञा दिएको छ । इरानका अनुसार अमेरिकी हमलाबाट उसको एउटा दूरसञ्चार टावर र दुईवटा पानीका ट्याङ्कीमा क्षति पुगेको छ ।

इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकालाई चेतावनी दिँदै भनेका छन्, ‘इरानले कुनै पनि आक्रमण वा धम्कीको जवाफ नदिई छाड्ने छैन । यदि सुरक्षित रहन चाहने हो भने अमेरिकी सेनाले यो क्षेत्र छाडेर जाओस् ।’

त्यस्तै, इरानका मुख्य शान्ति वार्ताकार मोहम्मद बकर कालिबाफले पनि सामाजिक सञ्जालमा लेख्दै आफूहरू कूटनीति मन पराउने तर आवश्यक परे अर्को भाषा (युद्धको भाषा) पनि प्रष्टसँग बोल्न सक्ने चेतावनी दिएका छन् ।

यो तनाव यस्तो समयमा बढेको छ, जब इजरायलले भर्खरै दक्षिणी लेबनानमा आक्रमण गरेको छ । यसअघि इजरायल र इरानबीच युद्धविरामको प्रयास भइरहेका बेला यो नयाँ तनाव सुरु भएको हो ।

राष्ट्रपति ट्रम्पले इजरायल र इरान दुवैलाई तुरुन्तै गोलीबारी बन्द गर्न आग्रह गर्दै दुवै देश युद्धविरामको नजिक पुगेको र आगामी २–३ दिनभित्रै एउटा राम्रो सम्झौता हुन सक्ने दाबी गरेका छन् । सम्झौता लगत्तै बन्द गरिएको महत्वपूर्ण व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुनः खुला गरिने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस